तानसेन नगरपालिका आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै,

शिक्षापाटी
शिक्षापाटी ६ माघ २०७६, सोमबार
2 Min Read
Aa

पाल्पा,माघ ६ । तानसेन भित्रका शैक्षिक संस्थामा स्थानीय पाठ्यक्रम लागू गर्न सरोकारवाला निकायसँग छलफल गरिएको छ । आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने उद्देश्यले तानसेनभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षा सम्बद्ध सरोकारवाला निकाय, जनप्रतिनिधिसँग स्थानीय पाठ्यक्रम निर्माण समितिले छलफल र सुझाव संकलन गरेको हो ।

छलफलमा अधिकांश सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरूले २० प्रतिशत स्थानीय पाठ्यक्रम लागू गर्न सकिने सुझाव दिनुभएको छ । हाल विद्यालयमा स्थानीय पाठ्यक्रमको सट्टामा पठनपाठन भईरहेको अंग्रेजी र कम्प्युटर विषयलाई पूर्ण रुपमा हटाउन नहुने सहभागीहरूले नगरपालिकालाई सुझाव दिएका छन् ।

संस्थागत विद्यालयहरुको तर्फबाट गंगा खत्रीले संस्थागत विद्यालयहरूले हाल स्थानीय पाठ्यक्रम अन्तर्गत पठाईरहेको कम्प्युटर विषय समयसापेक्ष रहेको उल्लेख गर्नुभयो । खत्रीले २० प्रतिशत स्थानीय पाठ्यक्रममा स्थानीय भेषभूषा, कला संस्कृति लगायतका विषय समेट्न सकिने बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले आगामी शैक्षिक सत्रदेखि तानसेन नगरभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको बताउनुभयो । उहाँले सबै सरोकारवाला निकायको सहयोग र सहकार्यमा स्थानीय पाठ्यक्रम एकीकृत रुपमा लागू गर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख न्यौपानेले स्थानीय पाठ्यक्रममा समेट्न सकिने विषय, सुझाव र कार्यान्वयनका सन्दर्भमा धारणा राख्नुभएको थियो । पाठ्यक्रम निर्माण समितिका संयोजक तिमिल्सिनाले यसअघि विभिन्न वडा तहमा समेत पाठ्यक्रम निर्माणका सन्दर्भमा छलफल भएको र पाठ्यक्रम निर्माण पछि पाठ्यपुस्तक समेत निर्माण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array