लकडाउनले शिक्षामा पारेको प्रभावबारे पाल्पाका सरोकारवालाको चासो

शिक्षापाटी
शिक्षापाटी १८ बैशाख २०७७, बिहीबार
3 Min Read
Aa

पाल्पा, बैशाख १८ । कोरोना भाइरस त्रासका बीच शिक्षाको लागि राष्ट्रिय अभियान पाल्पाको आयोजनामा बुधबार वर्तमान अवस्थामा शिक्षामा परेको प्रभाव र शिक्षामा सिर्जना भएको बर्तमान शुन्यता तोड्नका लागि गर्न सकिने संभाव्य उपायहरुको सम्बन्धमा प्रविधिको प्रयोग गरी बैठक सम्पन्न भएको छ ।

बैठकले कोभिड–१९ को विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा पनि त्यसको असर परेकाले बालबालिकालाई शिक्षामा सहभागिता गराउनेतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने निष्कर्ष निकालेको छ । विद्यार्थीलाई पढ्ने वातावरण तयार पार्न सबैको दायित्व भएकाले यसमा आगामी दिनमा विद्यार्थीलाई घरमै पनि विभिन्न माध्यमबाट पढ्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिइएको छ । नतिजा प्रकाशन गर्ने, विद्यार्थीलाई पढ्ने वातावरण बनाउने, पाठ्यपुस्तकको उपलब्धता र विद्यार्थीलाई पढ्न हौसला दिने शिक्षकले विद्यार्थीलाई कुने माध्यमबाट सम्पर्कमा राख्ने र घरमा कार्य गर्ने वातावरण बनाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

रेडियो, टेलिभिजिन, अनलाईनबाट पनि पढाई भइरहेकाले त्यसतर्फ स्थानीय तहले पनि ध्यान दिनुपर्नेमा वैठकमा छलफल भएको छ । कतिपय प्रावि तहमा विद्यार्थी संख्या थोरै भएकाले सामाजिक दुरी कायम गरेर, मास्क प्रयोग गरेर पनि कक्षा संचालन गर्न सकिनेतर्फ ध्यान दिनुपर्ने बताउँदै कक्षाकोठामा बेन्च, डेस्क पनि दुरी कायम गर्नुपर्ने छलफल चलेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेशराज पौडेलले बताउनुभयो । अभिभावकले पनि बालबालिकालाई पढ्ने वातावरण मिलाउनुपर्ने र अनलाइन कक्षा संचालनतर्फ पनि ध्यान दिनुपर्ने विषय उठेको उहाँले बताए ।

बैठकले विद्यालयका परीक्षाफल तत्काल निकाल्ने, भर्ना अभियान सुरु गर्ने, शिक्षकहरुलाई बालबालिका र तिनका अभिभावकसंग सम्पर्कमा रहन फोन सेवा उपलब्ध गराउनेतर्फ ध्यानाकर्षण गराएको छ । पुस्तक ढुवानी गर्न पहल गर्ने, घरमा बसेर गर्नै रचनात्मक क्रियाकलापहरु, वर्कबुक दिएर गर्ने कार्यहरु लगायतका उपायहरुको बारेमा छलफल गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनभयो ।

छलफलमा नेपाल शिक्षक संगठनका प्रदेश नेता विष्णु प्रसाद पोखरेल, नेपाल शिक्षक संघका अशोक घिमिरे, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष भरतप्रसाद न्यौपाने, शिक्षा पत्रकार एवं संचार मंचका अध्यक्ष माधव अर्यालले वर्तमान अवस्थामा भएका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा रम्भा गाउँपालिका शिक्षा संयोज काशीराम बस्याल, एनसिई पाल्पाका सदस्य संस्थाका ओम कुमार श्रेष्ठ, सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देश चोपलाल गिरी, इन्द्रेणी समाज केन्द्रका रुद्र मश्रांगी, समाज उत्थान सहयोग केन्द्रका मेहरसिं थापा, रुम टु रिडका प्रकाश पाण्डे, पत्रकार सुसिला रेग्मी, राधाकृष्ण मा.वि.का प्रधानाध्यापक भेष बहादुर अधिकारीलगायतले भाग लिएका थिए ।
अभियानका अध्यक्ष एवं बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेको अध्यक्षतामा चलेको बैठकमा बेस नेपालका कार्यक्रम संयोजक प्रकाश पाण्डेयले बैठकको सुरुवात गर्नुभएको थियो। भने ओमकुमार श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array