विद्यालय सुधारमा स्थानीय सरकार : खत्तम बनाउन मन भए संघ वा प्रदेशमा लैजानु

शिक्षापाटी
शिक्षापाटी २२ जेष्ठ २०७९, आईतवार
13 Min Read
Aa

नागरिकलाई राज्यको पहुँचमा ल्याउन अपनाईएको संघीयतासँगै संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत गरेको छ । वेवारिसे हुँदै गएको सार्वजनिक शिक्षा, नजिकै रहेको स्थानीय सरकार मार्फत् सञ्चालन र रेखदेख हुँदा प्रभावकारी हुने मान्यतामा संविधानको अनुसुचि ८ मा विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था गरिएको हो । यसले समुदायमा सामुदायिक विद्यालयको अपनत्व वृद्धि गर्ने, विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित नभएका शिक्षकलाई प्रभावकारी नियमन गर्ने, सामुदायिक विद्यालयको पठन पाठनमा सुधार हुने अपेक्षा गरिएको थियो ।

तर, नजिकैको सरकारले गर्ने अनुगमन छलछाम गर्न नसकिने निश्कर्ष साथ शिक्षक आवद्ध संघ संगठनका नेताहरु उक्त व्यवस्था परिवर्तनमा लविङ् गर्दै आएका छन् ।  स्थानीय सरकारका जनप्रतिनिधिलाई औँठा छापले भनेको हामी किन मान्ने भन्दै सार्वजनिक रुपमा शिक्षकका नेताहरुले अभिव्यक्ति दिदैं आएका छन् । आफ्ना सवाललाई प्रदेश वा संघीय सरकार मातहत लैजाने गरी उनीहरुले लविङ् जारी राखेको चर्चा कायमै छ ।

कतिपय स्थानीय सरकारले शिक्षकहरुसँगको सहकार्यमा निकै गतिलो परिवर्तन गरेको उदाहरण पनि प्रसस्तै देखिन्छ । यही सन्दर्भमा सुदुर पश्चिम प्रदेशको राजधानी रहेको कैलालीको धनगढी स्थित स्थानीय सरकारले विद्यालय शिक्षाको अवस्था के कसरी सञ्चालन गरिरहेको छ र उप महानगरपालिकाले के कस्ता योजना बनाएको छ भन्ने बारेमा नगर प्रमुख नृप बहादुर वडसँग श्रीधर पौडेलले गरेको कुराकानी :

स्थानीय सरकारको नेतृत्व गरेको यो अवधिमा शिक्षामा के सुधार गर्नु भयो ?

– धनगढी उप महानगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । विना शिक्षा अरु विकास दीर्घकालिन हुन सक्दैन भन्नेमा हाम्रो स्पष्ट बुझाई छ । त्यसैले हामीले ऐन कानून निर्माण गरेर काम गरिरहेका छौं । संघीय सरकारले कानून बनाए पछि बनाउँला भनेर कुरेर बस्यो भने कामै नहुने भयो, अहिले सम्म पनि संघीय कानून बनेको छैन, बनेको बेला केही मिलेन छ भने सुधार गरौंला भनेर हामीले कानून निर्माण गरेरै काम गरिरहेका छौं ।

यहाँको चुनौती भनेको विद्यालयहरुमा पर्याप्त शिक्षक दरबन्दी छैन, तर जे जति छन् त्यसलाई अधिकतम प्रयोग र परिचालनमा ध्यान दिएका छौं । भवन नभएकोमा भवन र घेराबारा नभएकोमा त्यसको व्यवस्थामा ध्यान दिएका छौं । विद्यालयको भौतिक निर्माण र शिक्षक दरबन्दी महत्वपूर्ण कुरा हो ।

यो बिचमा हामीले पालिका भित्र रहेका मध्ये ८ वटा विद्यालयमा प्रवेश परीक्षा लिएर भर्ना गर्नु पर्ने सम्मको परिवर्तन ल्याएका छौं । सरकारी विद्यालयमा प्रवेश परीक्षा भएको ईतिहास थिएन । तर अहिले भर्नाको बेला ती विद्यालयका प्रधानाध्यापकहरुले मोवाईल स्विच अफ गरेर बस्नु पर्ने अवस्था निर्माण भएको छ । मेरो सिफारिसको समेत भर्ना भएन । हामी आईसके पछि हामीले त्यस्तो बनायौं ।

के रहेछ सामुदायिक विद्यालय सुधारका लागि गर्नु पर्ने काम ?

– मुख्य कुरा पालिकाले बनाउने योजनाको प्राथमिकतामा शिक्षालाई अग्र स्थानमा राख्नु पर्यो । त्यो अनुसार अनुगमन, भौतिक निर्माण र जनशक्ति परिचानमा ध्यान दिनु पर्यो । महिनामा सकेसम्म २ पटक नभए कम्तिमा एक पटक म आफैं पुग्छु विद्यालयमा । शिक्षा विभागका साथीहरुलाई हरेक १५ दिनमा कुन विद्यालयमा पुगेको हो ? अवस्था के छ भन्ने कुराको रिपोटिङ् गर्नु पर्ने व्यवस्था गरिएको छ । म फेरी पनि भन्छु मेरो पहिलो प्राथमिकता शिक्षा हो ।

कतिपय स्थानीय सरकारले डोजर खरिदलाई पहिलो प्राथमिता दिए, डोजरले बाटो खनेको तत्काल देख्न सकिने, चुनावको भोटको लोभ र त्यसबाट हुने ठेक्का पट्टाबाट हुने लाभ पनि होला, तत्काल नदेखिने शिक्षा प्रति जनप्रतिनिधिको चासो छैन भन्ने आलोचना व्याप्त छ …
बाटो निर्माण पनि आवश्यक त हो नी, तर शिक्षा र कृषिमा जब सम्म हामी परिवर्तन गर्दैनौं समाज बदलिन सक्दैन । ५ बर्षका लागि हो नी हामी निर्वाचित भएको । शुरुवात के बाट भयो ? भन्ने मुख्य कुरा हो, मैले शिक्षामा गरेँ । बाँकी रहेको ढाई बर्षमा पनि हामीले यही रफ्तारमा काम गर्ने हो भने काम यो गरेको रहेछ भन्ने जनताले बुझ्ने छन् । पदमा हुँदा सम्म त गाली गर्लान् तर बाहिर निस्के पछिे बुझ्छन् ।

हामीले विभिन्न सात वटा विद्यालयमा शुरु गरेको प्राविधिक शिक्षा कार्यक्रमबाट केही समय पछि देखिने परिवर्तनले पनि हाम्रो कामका बारेमा जनताले बुझ्नेछन् । प्राविधिक शिक्षा सञ्चालनका लागि हामीले उप महानगरपालिकाको आन्तरिक श्रोतबाट १ करोड रुपैंया विनियोजन गरेका छौं ।  त्यो रकमबाट १७ वटा अलग भवन निर्माण गरिएको छ । विद्यालयले न्यूनतम काम गर्यो भने विद्यालयका आवश्यकताहरु पुरा गर्छौ भनेर विश्वस्त बनाए पछि काम शुरु भएको छ । त्यो बजेट त अरु ठाउँमा खर्च गर्दा पनि हुन्थ्यो, तर हामीले शिक्षालाई प्राथमिकतामा राखेकै कारण त्यसमा लगानी गरिएको हो । त्यो लगानीले सुधार देखिन थालेको छ हामी सन्तुष्ट छौं ।

म आफैं विद्यालयमा जाँदा देखेको छु पठन पाठन र विद्यालयको वातावरणमा आएको परिवर्तन, मैले वडा अध्यक्षहरुलाई पनि भनेको छु, तपाईहरुसँग ४ जना सदस्य छन् भने पछि उनीहरुलाई विद्यालय तोक्नुस् र अनुगमन चुस्त बनाउनुहोस् । त्यसले विद्यालयको आवश्यकता र चुनौती थाहा हुन्छ र सुधारका लागि गर्नु पर्ने योजना निर्माणमा सघाउँछ । यसको साथै हामीले विद्यालयमा अभिभावकको सहभागिता र चासो बढाउन अभिप्रेरित पनि गरिरेहका छौं । विद्यालय त अभिभावकको हो नी, जसको बच्चा पढ्छ उसको पनि त केही कर्तव्य हो नी त सुधार गर्ने । तपाईका बच्चा कस्तो पढिरहेका छन्, शिक्षकले कस्तो पढाईरहेका छन् ? यस्ता कुरामा अभिभावकले पनि ध्यान दिनु आवश्यक छ । कतिपय विद्यालयको बार्षिकोत्सवमा मैले १५ मिनेट अभिभावकलाई मात्रै भनेको छु ।

शिक्षकहरु खास गरी शिक्षक संघ संगठनका नेताहरु तपाई जनप्रतिनिधिहरुलाई त औंठा छाप हुन्, तिनले गर्ने अनुगमन हामीले किन मान्ने भनेर सार्वजनिक रुपमै भन्दै आएको सुनिन्छ ? वडाध्यक्ष, अभिभावकले गर्ने अनुगमनलाई तपाईले भने जस्तो सजिलै पचाउलान् र ?

– म शिक्षकहरुको पनि त नेता हुँ । म त जान्छु, बस्छु कुरा गर्छु । मुख्य कुरा के हो भने १० बजे अघि र ४ बजे पछि नेतागिरी गरे पनि भयो, जे गरे पनि भयो, तर १० देखि ४ त पढाउनु पर्यो नी । मेरो काम पो २४ घण्टै राजनीति गर्ने हो त, अरुले त आफ्ने काम गर्नु पर्यो नी । शिक्षकहरु जुन विचारको भए पनि केही आपत्ति भएन ठिक छ, तर शिक्षा जस्तो संवेदनशील विषय, कसैको भविष्य जोडिएको विषयमा खेलवाड गर्न पाहिँदैन । सक्नुहुन्छ भने पढाउनुहोस् नभए राजिनामा गर्नुहोस् । अर्को आउँछ । खुला राजनीति गर्ने हो भने राजिनामा गर्नुहा्ेस् भन्ने गरेको छु मैले । जनताले तिरेको करको रकम राज्यबाट तलब खाने, अनी राजनीति गरेर बच्चा नपढाउने त भएन नी । जसले राजनीति गरेर पढाउन सक्नुुहन्न वा चाहनुहुन्न राजिनामा गर्ने र राजनीति गर्ने मैले त उहाँहरुलाई त्यसै भन्दै आएको छु । हरेक बच्चा राज्यको हो, राज्यको बच्चालाई पढ्ने कुरामा खेलवाड गर्नु भएन ।

तपाई शिक्षालाई पहिलो प्राथमिकता भन्दै हुनुुहन्छ, शिक्षाको महत्वपूर्ण पक्ष शिक्षकहरुका बारेमा पनि आफ्नो धारणा व्यक्त गर्नु भयो  तर, विद्यालय सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको अनुसूची ८ को व्यवस्था विपरित प्रदेश वा संघीय सरकार अन्र्तगत यो अधिकार राख्न शिक्षक नेताहरुकै लविङ् जारी छ ….

– अब पनि संघीय वा प्रदेश सरकार मातहत विद्यालय शिक्षा लैजाने हो भने यो भन्दा पनि खत्तम हालत हुन्छ सरकारी विद्यालयको । किन भने अहिले पनि त शिक्षक सेवा आयोगबाट पास भएका शिक्षक छन् नी विद्यालयमा । निजीमा त कसैले दाइ, कसैले मामा, कसैले भाञ्जा, कसैले बैनी राख्या छ । राज्यले छनौट गरेका शिक्षक त यी भन्दा फरक हुन् । हजारौं जनाबाट प्रतिस्पर्धा पछि पास भएको शिक्षक छन् नी सरकारी विद्यालयमा । तर अनुगमनका लागि जिम्मेदार मान्छे नभएर हो नी बिग्रेको । त्यो नजिकैबाट गर्ने अनुगमन भनेको त स्थानीय सरकारका जनप्रतिनिधिले हो । अभिभावकलाई चिनेको छ, शिक्षक चिनेको छ, विद्यार्थी चिनेको छ के कारणले विग्रेको छ भन्ने थाह पाएको छ । यसकै कारण हिजो ५० जना नआउने बार्षिकोत्सवमा अहिले त ५ सय जना अभिभावक आईरहेका छन् ।

तपाईको मतलब टाढाकोले भन्दा नजिकैको सरकारले गर्ने अनुगमनले सुधार हुँदो रहेछ भन्ने हो ?

हो, हामीले गरेको र यहाँ भएको त्यही हो । यो विद्यालय हाम्रो हो भन्ने कुरा जनप्रतिनिधि र अभिभावकले बुझ्यो भने शिक्षकको स्तर आँफै बढ्छ, त्यस पछि विद्यार्थीको पढाई सुधार हुन्छ अनी त विद्यालय सुधार भईहाल्यो नी । तर अहिले प्रदेश र संघीय सरकारले बरु सुधारमा रोकेको छ । संविधानले स्थानीय सरकारलाई दिएको शिक्षा, स्वास्थ्य, कृषि जस्ता अधिकारलाई अनेक ध्यान केन्द्र र ज्ञान केन्द्र बनाएर अड्काउने खेल भईरहेको छ । म जिन्दगी भरी नगर प्रमुख हुने हैन नी । मुख्य मन्त्री र मन्त्री जिन्दगी भर यीनै भईराख्ने हुन् त ? मैले स्थानीयमा यो भएन भन्दा मेरो लागि भनेको हो र ? तीनै तहका सरकारलाई संविधानले ग्यारेण्टि गरेको अधिकारको कार्यान्वयनमा आफू आफू केन्द्रित भए भईहाल्यो नी । हामीलाई विद्यालय शिक्षाको अधिकार दिएको छ भने त्यो सञ्चालनको काम हामीले गर्ने हो । स्वास्थ्य, कृषिको काम दिएको छ, त्यो काम हेरौं । किन प्रदेश र संघका केन्द्र चाहियो ? जे जे बनाउने हो स्थानीयसँग जोडिदिए भईहाल्यो नी । जो स्थानीय संग छैन त्यो बनाए भयो नी ज्ञान केन्द्र, ध्यान केन्द्र …

यो अलमल के कारणले आएको हो त ?

– यो पढे लेखेकाहरुको समस्याले गर्दा भएको हो । किन भने यी पढे लेखेकाहरुले घुमिराख्नु पर्यो नी । पढे लेखेकाहरुले त काठमाडौं बस्नु परयो, प्रदेशमा बस्नेले धनगढी बस्नु पर्यो प्रदेश राजधानीमा, ती पढेलेखेकाले घुमाईदिएका हुन् । हामी त कम पढेका भयौ नी, औँठा छाप नै होलान् कति तर जनतामा प्यारो छ, दृष्टिकोण छ । तर यहाँ पढे लेखेकाहरुले समस्या उब्जाउने मात्रै काम गरे, निकाश दिएनन् ।

निकाश के हो त अब ?

– स्थानीय सरकारसँग सबै कुरा छ । संघीय सरकारले पनि स्थानीयलाई बलियो बनाउनु पर्यो, प्रदेश सरकारले पनि स्थानीयलाई बलियो बनाउनु पर्यो र यी दुबै सरकारले कानून बनाउनु पर्यो । २ बर्ष भईसक्यो कानून बनाउँदैनन् । बाटोमा ग्राभेल गर्ने काम पनि सांसदले हेर्ने हो भने स्थानीय सरकार हटाईदिए भईहाल्यो नी । संघीय र प्रदेश सरकार भनेको नीति बनाउने सरकार हो । काम गर्ने स्थानीय सरकारले हो ।

नागरिकका दीर्घकालिन र दैनिक जिवनसँग जोडिने महत्वपूर्ण काम त स्थानीय सरकारले गर्ने भए पछि, आफ्नो भूमिका खुम्चिएको संघीय र प्रदेश सरकारको बुझाईले यो अवस्था आएको हो त ?

– संघीयता भनेको जनतासँग नजिक रहने सरकार बनाउने व्यवस्था हो नी । आउनु पर्ने त स्थानीय सरकारमै हो । किन भने हरेक दिन जनताका सुख दुख थाह हुन्छ स्थानीय जनप्रतिनिधिलाई, एउटा वडामा ५ जना जनप्रतिनिधि भएको त स्थानीय सरकारको हो नी । सांसदलाई यहाँको कुनै टोलमा के भएको छ भन्ने कुरा के थाह हुन्छ ? त्यो त वडा सदस्य र वडा अध्यक्षलाई पो थाह हुन्छ । मलाई पनि त्यति थाह नहुन सक्छ । त्यसैले संविधानले गरेको व्यवस्था ठिक छ यसलाई धेरै डिष्टर्भ गर्नु हुँदैन, यस तर्फ सोच्न जरुरी छ ।

नोट : धनगढी उप महानगरपालिका क्षेत्र भित्र ७३ वटा सामुदायिक र १ सय ८ वटा निजी विद्यालय छन् । सामुदायिक विद्यालयमा ५ सय ८२ शिक्षक दरबन्दी छ । जसमा प्राथमिक तर्फ सबै भन्दा धेरै ३ सय १९ र प्राविधिक तर्फ सबै भन्दा कम ४ दरबन्दी मात्रै रहेको पालिकाको शिक्षा शाखासँग तथ्याङ्क छ । निमाविमा १ सय ६, माविमा ९० र उच्च माविमा ९ दरबन्दी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array