बुटवलले तोक्यो निजी तथा संस्थागत विद्यालयको शुल्क

शिक्षापाटी
शिक्षापाटी १ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

बुटवल — बुटवल उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना , प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको हो ।

त्यसलाई सोमबार राजपत्रमा प्रकाशित गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

बुटवल उपमहानगरपालिकाको नेतृत्वमा अभिभावक, निजी विद्यालयका छाता संगठनका संस्थाहरूसँग छलफल गरेर नयाँ शुल्क निर्धारण गरेको उनले जनाए ।

नयाँ मापदण्डअनुसार चालु शैक्षिक सत्रमा ‘ग’ श्रेणीमा रहेको निजी विद्यालयले पूर्वप्राथमिक तहका लागि मासिक शुल्क २ हजार, ‘ख’ ले २४ सय र ‘क’ ले बढीमा २७ सय ५० रुपैयाँमात्र मासिक शुल्क लिन पाउनेछन् । यस्तै प्राथमिक तहमा कक्षा १ देखि ५ सम्म ‘ग’ वर्गका विद्यालयले २२ सय, ‘ख’ ले २६ सय र ‘क’ वर्गको विद्यालयले ३ हजार रुपैयाँसम्म शुल्क लिन पाउने मापदण्ड उपमहानगरपालिकाले बनाएको छ । यस्तै निमावि तहमा कक्षा ६ देखि ८ सम्म ‘ग’ वर्गका विद्यालयले २६ सय, ‘ख’ वर्गले ३ हजार र ‘क’ ले ३३ सय मासिक शुल्क लिन पाउनेछन् । यस्तै माध्यमिक विद्यालयका लागि ग, ख र क वर्गका लागि क्रमश ३२ सय, ३६ सय र ४२ सय शुल्क निर्धारण गरिएको छ भने कक्षा ११ र १२ को लागि ग, ख र क वर्गका लागि त्रमशः ३५ सय, ४१ सय र ४७ सय शुल्क निर्धारण गरेको छ ।

त्यस्तै मावि ११ र १२ मा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४७ सय, ५ हजार र ५२ सय लिन पाउनेछन् । यस्तै व्यवस्थापनतर्फ, क्रमशः ४३ सय, ४७ सय र ५ हजार शुल्क निर्धारण गरेको छ ।

उपमहानगरपालिकाले निर्धारण गरेको नयाँ शुल्क साउन महिनादेखि नै कार्यान्वयनमा आउने र तोकिएको भन्दा बढी शुल्क लिएको भए अर्को महिनाको शुल्कमा मिलान गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।

उपमहानगपालिकाले २०७६ सालमा बनाएको शुल्कसम्बन्धी मापदण्डभन्दा चरम शुल्क असुलेको गुनासो अभिभावकहरूले गरेका थिए । त्यसपछि बुटवल उपमहानगरपालिकाले एक कार्यदल गठन गरी यस विषयमा अध्ययन गरेको थियो । अध्ययनअनुसार बुटवलका निजी तथा संस्थागत विद्यालयहरूले तोकिएको मापदण्डभन्दा ३० देखि ७३ प्रतिशतसम्म शुल्क असुल्ने गरेको पाइएको उपमहानगरले जनाएको छ ।

Coiped: Kantipur

प्रतिक्रिया दिनुहोस्

Array