नेपाल एयरलाइन्सको जहाज नेपाली विद्यार्थी ल्याउनको लागि इजरायल पठाइने

शिक्षापाटी
शिक्षापाटी २५ आश्विन २०८०, बिहीबार
2 Min Read
Aa

शिक्षा पाटी। इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ ।

इजरायलमाथि प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेको हुनाले उद्धारका लागि गुहारिरहेका नेपालीलाई लिनको लागि नेपाल एयरलाइन्सको जहाज राति ११ बजे काठमाडौंबाट उड्ने परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । नेपाल एयरलाइन्सको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जाने उनले जनाए ।

आजै बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्ड्यन प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

इजरायल र हमासबीचको संघर्ष जारी रहेकाले त्यहाँ रहेका नेपालीले असुरक्षित महसुस गरेका छन् । सुरक्षा जोखिममा रहेका ३५० भन्दा बढी नेपाली विद्यार्थीले स्वदेश फर्कन अनलाइनमार्फत फारम भरेको तेल अबिबस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । अध्ययनसँगै कामका लागि इजरायल पुगेका नेपाली विद्यार्थीले छिटोभन्दा छिटो उद्धारका गर्न सरकारलाई आग्रह गरिरहेका छन् । दूतावासले इजरायल-गाजा सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

हमासले गत शनिबार बिहान गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमासको आक्रमणमा परी घाइते भएका चार नेपालीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको दूतावासले जनाएको छ । साथै बेपत्ता रहेका एक नेपालीको खोजी कार्य भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array