शिक्षामा बजेट बढाएर शिक्षकलाई पर्याप्त तलबसुविधा दिनुपर्छ : रमेश सिलवाल [भिडिओसहित]

शिक्षापाटी
शिक्षापाटी २० पुष २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले क्षमतावान् जनशक्ति शिक्षण पेसामा नआएसम्म मुलुकको शैक्षिक विकास हुन नसक्ने बताएका छन्। यसका साथै उनले शिक्षण पेसामा लाग्ने जनशक्तिलाई पर्याप्त तलबसुविधा दिनुपर्नेमा जोड दिए।

हिमाल प्रेसको साप्ताहिक प्रस्तुति ‘एड्टक’ मा कुराकानी गर्दै सिलवालले भने, ‘दक्ष र असल राम्रो र असल मान्छेहरू शिक्षामा आउने वातावरण बनाउनुपर्‍यो। त्यहीअनुसारको तलबसुविधा दिनुपर्‍यो।’ उनले यस सम्बन्धमा भुटान र श्रीलंकाको उदाहरण दिएका छन्। उनका अनुसार भुटानमा अन्य पेसाकर्मीको भन्दा शिक्षकको तलब दोब्बर छ, यस्तै श्रीलंकामा अरूको भन्दा शिक्षकको तलब १६० प्रतिशत बढी छ।

सिलवालले भने, ‘भुटानमा शिक्षण पेसामा आउनेलाई दोब्बर तलब छ। श्रीलंकामा १६० प्रतिशत बढी छ। दक्ष जनशक्ति शिक्षण पेसामा आए भने उनीहरूले उत्पादन गर्ने विद्यार्थी सक्षम हुन्छन् भन्ने ती देशको बुझाइ रहेछ। हामीकहाँ शिक्षण पेसा पहिलो प्राथमिकता पर्दैन। अनि कसरी शैक्षिक सुधार हुन्छ?’

सिलवालले सरकारले शिक्षामा लगानी गर्न नसकेको पनि बताए। उनले भने, ‘शिक्षामा लगानी एकदम थोरै छ। शिक्षामा २० प्रतिशत लगानी गर्छौँ भनेर अन्तर्राष्ट्रिय प्रतिबद्धता गरे पनि बल्लतल्ल ११ प्रतिशत लगानी भइरहेको छ। गुणस्तरीय शिक्षा दिने हो भने शिक्षामा लगानी बढाउनुपर्छ। हरेकले अपनत्व महसुस गर्नुपर्छ। विश्वविद्यालय, कलेजलाई पूर्वाधारले सम्पन्न बनाउनुपर्छ।’

उनले सरकारले गुणस्तरीय शिक्षाको प्रतिबद्धता जनाएर उचित मुआब्जा दिए निजी विद्यालयहरू सरकारलाई साँचो बुझाउन तयार रहेको पनि बताए। सिलवालले गुणस्तरीय शिक्षा पाउने हक विद्यार्थी र अभिभावक दुवैको भएको हुँदा सरकारले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए। ‘गुणस्तरीय शिक्षा पाउने हक विद्यार्थी र अभिभावकको हो। छनोटको हक उहाँहरूको पनि हो। सरकारले गुणस्तरीय शिक्षा दिन्छु भन्ने प्रत्याभूति गर्‍यो भने र उचित मुआब्जा दियो भने हामी साँचो बुझाउन तयार छौँ’, सिलवालले भने।

सिलवालले एसईई शिक्षाको गुणस्तर कायम गर्न नभई सबै विद्यार्थीलाई पास गर्नका लागि ल्याइएको बताए। उनले भने, ‘एसईई शिक्षाको गुणस्तर वृद्धि गर्न ल्याइएको होइन। एसएसली परीक्षा हुँदा बढी विद्यार्थी फेल भए। फेल नहोस् भनेर एसईई ल्याइयो। विदेशी र अरूलाई छल्न एसईई ल्याइयो।’ कक्षामा अनुपस्थित भए पनि परीक्षामा १.६ ल्याउँछ भने त्यो विद्यार्थी पास हुने व्यवस्था एसईईमा गरिएको उनको भनाइ छ।

अध्यक्ष सिलवालले अबको पाँच वर्षभित्रमा नेपालको शैक्षिक गुणस्तर कम्तीमा एसियाली स्तरको नभए विश्वस्तरमा पुगोस् भन्ने आफ्नो चाहना रहेको बताए। उनले भने, ‘कम्तीमा सार्कस्तरमा पुगोस् भन्ने चाहना हो।’

उनले सबै सरकारी विद्यालय गुणस्तरहीन नभएको बताउँदै सबै निजी विद्यालय २४ क्यारेट सुनजस्तो शुद्ध र गुणस्तरीय नभएको पनि बताए। सिलवालले भने, ‘सबै सरकारी विद्यालय गुणस्तरहीन छन् पनि भन्दिनँ। सबै प्राइभेट स्कुल २४ क्यारेट सुनजस्ता छन् पनि भन्दिनँ। जसले गुणस्तरीय शिक्षा दिएको छ उसलाई धन्यवाद भन्नुपर्छ।’

Copied: Himali Press

प्रतिक्रिया दिनुहोस्

Array