बिपि कोइराला प्रतिस्ठानमा पठनपाठन अबरुद्ध हुदा विद्यार्थीको रिलेअनसन ।

शिक्षापाटी
शिक्षापाटी २५ माघ २०८०, बिहीबार
2 Min Read
Aa

माघ, २४ गते धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीहरुले अनशन शुरु गरेका छन्। प्रतिस्ठानमा भएको आन्दोलनको कारण पठनपाठन प्रभावित भएपछी ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित विद्यार्थीहरुले एक साता अघिदेखि अनशन सुरु गरेका हुन।

विद्यार्थीहरुले पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै २४ सै घण्टा रिले अनशन गरिरहेका छन् । विद्यार्थीहरूले पूर्ण क्षमतामा पठनपाठन र परीक्षाका गतिविधि चाँडै सञ्चालन गरिनुपर्ने एक सूत्रीय माग राखेका छन।

यसअघि प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक विगत २५ दिनदेखि बढुवा माग गर्दै आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ ।

प्रतिस्ठानका विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओम शान्ति रजकका अनुसार मेडिकल शिक्षा जस्तो मानव स्वास्थ्यसँग जोडिने संवेदनशील विषयमा गम्भीर बन्न आग्रह गर्दै एक सातादेखि रिले अनशन जारी रहे पनि कतैबाट सुनुवाइ नभएको बताए । आन्दोलनका कारण विद्यार्थीको पढाइ र परीक्षामा समेत असर पर्ने भएपछि ध्यानाकर्षण गराउन रिले अनशन जारी राखिएको समाजका अध्यक्ष डा रजकले बताए । ‘हामी एक हप्ताअघि देखि अनशनमा बसेका छौं तर कतैंबाट सुनुवाइ भएको छैन ।’ उनले भने,‘पठनपाठन सुरु नभए हामी आमरण अनशन बस्न बाध्य हुनेछौँ ।’

गत कात्तिकमा पनि करिब एक महिना आन्दोलनका कारण प्रतिष्ठानको स्वास्थ्य र शैक्षिक गतिविधि प्रभावित बनेपछि कात्तिक २० गते धरानका राजनीतिक दलको रोहबरमा प्रतिष्ठान प्रशासन र आन्दोलनकारी विच वार्ता भएको थियो ।

वार्तामा लोकसेवा आयोगसँग परामर्श लिएर पुस २ गतेदेखि बढुवाका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएपछि आन्दोलन अन्त्य भएको थियो । तर सहमतिअनुसार प्रक्रिया अघि नबढेको भन्दै शिक्षक, कर्मचारी तथा चिकित्सक पुनः आन्दोलनमा उत्रिएका कारण पठनपाठन र स्वास्थ्य सेवामा प्रभाव परिरहेको छ ।

लोकसेवा आयोगले कानुनबमोजिम प्रतिष्ठानको नियमावली संशोधन गरेर मात्र नियुक्ति तथा बढुवा प्रक्रिया अघि बढाउन पटक–पटक निर्देशन दिएको छ तर प्रतिष्ठानकै ढिलासुस्तीका कारण नियमावली संशोधन हुनसकेको छैन ।

उच्च अदालत विराटनगरले समेत लोकसेवा आयोगको उपस्थितिबिना बढुवा प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । आन्दोलनमा उत्रिएका शिक्षक, कर्मचारी भने तुरुन्तै बढुवा प्रक्रिया अघि बढाउन माग गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्प कमल दाहालले यसअघि नै प्रतिष्ठानको समस्या समाधान गर्न प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई निर्देशन दिइसकेका छन् ।

copied: Bidharthi.com

 

प्रतिक्रिया दिनुहोस्

Array