कक्षा १ र ११ मा नयाँ पाठयक्रम लागू, पूर्णाङ्क हटाइयो

शिक्षापाटी
शिक्षापाटी ३ मंसिर २०७६, मंगलवार
2 Min Read
Aa

काठमाडौं, ३ मंसिर। विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ। आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ। विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो। १९९० सालबाट नेपालमा प्रवेशिका परीक्षाको थालनी भएको हो र त्यो बेला अतिरिक्त विषयका रूपमा साधारण विज्ञान विषय समावेश गरिएको थियो।

नयाँ शिक्षा लागू भएपछि अनिवार्य विज्ञान विषय पाठ्यक्रममा समावेश गरिएको थियो र २०३१ सालबाट सो विषय प्रवेशिका परीक्षामा समावेश भएको थियो। पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले भन्नुभयो, “सूचना प्रविधिको युगमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति विकास गर्ने उद्देश्यले विज्ञान र प्रविधिलाई जोड्ने निर्णय भएको हो। ” आगामी शैक्षिक सत्र २०७७ सालबाट कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू तथा कक्षा ६ मा नयाँ पाठ्यक्रम परीक्षणका रूपमा लागू गरिँदै छ। कक्षा ४ देखि १० सम्म विज्ञान तथा प्रविधि विषयको अध्यापन गरिने छ।

आगामी २०८० सालसम्ममा सबै तहमा नयाँ पाठ्यक्रम लागू भइसक्ने छ। हटाइयो पूर्णाङ्क नयाँ पाठ्यक्रम संरचनाअनुसार अबदेखि पूर्णाङ्कको व्यवस्थालाई हटाइएको छ। नेपालमा आधुनिक शिक्षाको थालनी हुँदादेखि नै पूर्णाङ्कको व्यवस्था थियो। अब त्यसलाई विस्थापन गरी क्रेडिट आवर बनाइएको छ। कक्षा ११ र १२ मा हप्तामा २७ घण्टा तथा त्यसभन्दा तल हप्तामा ३२ घण्टाको क्रेडिट आवर कायम गरिएको छ। सबै तहका विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन पद्धतिमा मात्र गरिने छ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, मेरो सेरोफेरो र गणित विषयलाई एकीकृत पाठ्यक्रम बनाइएको छ। केन्द्रका सूचना अधिकारी भट्टराईका अनुसार स्थानीय तहले मातृभाषा र स्थानीय विषय तयार गरी हप्ताको पाँच घण्टा अध्यापन गर्नुपर्ने हुन्छ। त्यस्तै कक्षा ४ देखि ८ को पाठ्यक्रममा मानव मूल्य शिक्षा विषय थप गरिएको छ। हाल कक्षा ४–५ मा नैतिक शिक्षा थिएन भने कक्षा ६–८ मा नैतिक शिक्षाको अध्यापन हुँदै आएको छ।

नैतिक शिक्षालाई नै मानव मूल्य शिक्षा बनाइएको हो। हाल कक्षा ६–८ मा अध्यापन हुँदै आएको पेसा, व्यवसाय र प्रविधि विषयलाई राष्ट्रिय पाठ्यक्रमबाट हटाइएको छ र त्यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरिएको छ।  खबर गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

Array