यस वर्ष एसइई नहुने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने

शिक्षापाटी
शिक्षापाटी २९ जेष्ठ २०७७, बिहीबार
2 Min Read
Aa

काठमाडौं, २९ जेठ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष नगर्ने निर्णय गरेको छ।  चैत ६ गतेदेखि १७ गतेसम्म हुने गरी तय भएको परीक्षा एक दिनअगाडि मात्रै सरकारले रोक्ने निर्णय गरेको थियो।  त्यसयता अन्योलमा परेको परीक्षा यस वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने गरी रोक्ने निर्णय गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल एसईई लिन सम्भव नभएको भन्दै विद्यार्थीको अध्ययन निरन्तरताका लागि बाधा अड्काउ फुकाउ अध्यादेश जारी गरेर यस पटक एसईई नलिने भनी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए।  शिक्षा ऐन २०२८ को दफा ४ (ट) बमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।

अब एसईईको हकमा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार मान्ने र विद्यालयद्वारा गरिने आन्तरिक मूल्यांकनसम्बन्धी कार्यको स्थानीय तहले सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्डसमक्ष सिफारिस गर्ने र सो कार्यको अनुगमन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।  शिक्षामन्त्री पोखरेलले कोभिडका कारण मुलुक लकडाउनमा रहेको, विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोगमा आइरहेको कारण आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने गरी जानेमा सरकारले निर्णय लिएको अन्नपूर्णलाई बताए।

मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले दिएको प्रतिवेदनको सुझावका आधारमा शिक्षा मन्त्रालयले एसईई रोक्ने प्रस्ताव लगेको थियो।  कोरोनाका कारण सरकारले चैत ११ यता लकडाउन गर्ने निर्णय गरेपछि त्यसबेला माध्यमिक शिक्षा परीक्षादेखि विश्वविद्यालयसम्मका परीक्षा स्थगन गरेको थियो।  एसईईमा देशभरका कुल ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए। अन्नपूर्णमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: