दुर्गा आधारभूत विद्यालयको ३२ औं वार्षिकोत्सव सम्पन्न

शिक्षापाटी
शिक्षापाटी १० पुष २०७७, शुक्रबार
2 Min Read
Aa

मिलन विश्वकर्मा
पाल्पा, १० पुस । दुर्गा आधारभूत विद्यालय कालिगण्डकी गाउँपालिका ४ मुड्कीनाको ३२ औं वार्षिकोत्सव बिहिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष साबीत्रा कोइरालाले मानिसका आधारभूत आवश्यकतामा पर्ने शिक्षा, स्वास्थ्य र खानेपानीलाई स्थानीय सरकारले प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । शिक्षाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले आफ्ना बालबालीकाको पढाइलाई ध्यान दिन अभिभावकलाई सुझाव दिनुभयो । विद्यालयको गुणस्तरलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यहाँको शैक्षिक तथा भौतिक संरचनाको लागि आवश्यक सहयोग गर्ने कोइरालाले प्रतिवद्धता जनाउनुभयो ।
बिशिष्ट अतिथि वडाध्यक्ष चक्रपाणी पाण्डेले बालबालीकाको शैक्षिक गुणस्तरलाई प्रभावकारी बनाउने काममा शिक्षक र अभिभावको समान भूमिका रहने बताउनुभयो । विद्यालयको थप प्रगतिका लागि वडाले आवश्यक सहयोग गर्ने उहाँले आश्वासन दिनुभयो ।
ध्रुबज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक हिराबहादुर गाहाले यस विद्यालयको शैक्षिक गुणस्तर सन्तोषजनक रहेको बताउनुभयो । यहाँबाट ५ कक्षा पास गरेर ध्रुबज्योति विद्यालयमा थप अध्ययन गर्न पुगेका विद्यार्थीको पढाई राम्रो रहेको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पाण्डे (स्यामलाल) को सपभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हुमकला विश्वकर्माले ५६ लाख ५ सय ९ रुपैयाँ बराबरको विद्यालयको आयव्याय सार्वजनिक गर्नु भएको थियो ।
शिक्षिका हिराकला पाण्डेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक बुद्धिबल परियारले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीलाई विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो ।
यस विद्यालयमा करिब एक सय जना विद्यार्थी अध्ययनरत् छन् । अधिकांश जनजाती र दलित समुदायका बालबालीका रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्

Array