सरकारले श्रम शक्तिलाई सही उपयोग गर्न सकेन् : पूर्व गभर्नर नेपाल

शिक्षापाटी
शिक्षापाटी ११ पुष २०७७, शनिबार
3 Min Read
Aa

पाल्पा, ११ पुस । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर चिरन्जीवी नेपालले सरकारले मुलुकको श्रम शक्तिलाई सही उपयोग गर्न नसकेको बताउनुभएको छ। नेपालमा ५७ प्रतिशत श्रम गर्न सक्ने शक्ति छ तर सरकारले सही तरिकाले परिचालन गरेर लाभ लिन नसकेको उहाँले बताउनुभयो ।
प्रभात माध्यमिक विद्यालय रिब्दीकोट गाउँपालिका ७ मैनादीमा शुक्रबार आयोजित प्रि डिप्लोमा वाली विज्ञान कक्षा शुभारम्भ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अहिले युवा जमात विदेशमा छन्, त्यहाँको उन्नति गर्न उनीहरूले मरुभूमिमा फूल रोप्न श्रम बेचिरहेको उहाँले बताउनुभयो । ‘बेचिएका युवाबाट आएको रेमिट्यान्सले सरकार चलिरहेको छ’ उहाँले भन्नुभयो ‘सरकारले युवालाई जागिर दिन पनि परेको छैन्, जुन सरकार आएपनि आनन्द लिइरहेका छन्, रेमिट्यान्समा मजा लिइरहेका छन्, रमाइरहेका छन् ।’
नेपालीले पछिल्लो समयमा मेहनत गर्न छाडेको उहाँ बताउनुहुन्छ। अर्कालाई दोष लगाउने, नेता बदमास भए, नेपालमा केही हुँदैन्, देश बिगारे भन्दै छोराछोरी विदेश पठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘विदेशमा नेपाली युवाले दोस्रो दर्जाको नागरिक भएर काम गर्नुपर्ने बाध्यता छ’ उहाँले थप्नुभयो ‘सीप नभएकाले जस्तोसुकै काम गर्दा रोगी भएर फर्किएका छन्। त्यसैले प्राविधिक शिक्षा अध्ययन गरेर सीप सिक्न आवश्यक छ।’ प्राविधिक ज्ञान र सीप आर्जन गरेर सरकारसँग व्यवसाय र रोजगार सिर्जना गर्न माग गर्दै युवा एक पटक सडकमा गएर आन्दोलन गर्न जरुरी छ ।
दलालको पछि लागेर विदेश नजान उहाँले सुझाव दिनुभयो । परिवारसँगै बसेर जीवन जिउनको लागि प्राविधिक शिक्षाको विकल्प नभएको उहााले बताउनुभयो । प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउन सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने नेपालले बताउनुभयो । प्राविधिक शिक्षाले मानिसको जीवनस्तरमा परिवर्तन ल्याउने उहाँकोभनाइ छ । सहज र सरल जीवनयापन गर्न प्राविधिक शिक्षा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष नीलबहादुर रास्कोटी, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, विद्यालयका प्रधानाध्यापक जनक आचार्य, बाली विज्ञान शाखाका कोअर्डिनेटर मिथलेस कापरी लगातयतले शुभकामना दिएका थिए।
सहायक प्रधानाध्यापक डोलराज भट्टराइले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक अर्जुन लम्तरीले गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुवँरको सभापतित्वमा भएको कार्यक्रममा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा गत शैक्षिक सत्रमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरिएको थियो।
सोही अवसरमा पूर्व गभर्नर नेपालले विद्यालयलाई ४ सय थान मास्क र ५ लिटर सेनिटाइजर हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array