प्राविधिक शिक्षण संस्थामा विद्यार्थी अभाव

शिक्षापाटी
शिक्षापाटी ९ श्रावण २०८०, मंगलवार
2 Min Read
Aa

विराटनगर — मोरङको बुढीगंगा–४ हात्तीमुढास्थित मनमोहन स्मृति पोलिटेक्निकमा तीन वर्षे डिप्लोमा इन इन्जिनियरिङ अध्ययनका लागि गत वर्ष ४८ जनाको सिटमा ५ सयभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । यसपालि त्यति नै सिटका लागि आवेदन दिने दुई दिन बाँकी रहँदा ३५ जनाको मात्र आवेदन परेको छ ।

तीन वर्षे डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङको ४८ सिटका लागि पनि गत वर्ष पाँच सयभन्दा बढी परीक्षार्थीले प्रवेश परीक्षा दिएका थिए । यसपालि ४० जनाको मात्र आवेदन परेको छ । पोलिटेक्निकले सञ्चालन गर्दै आएको तीन वर्षे डिप्लोमा इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङ संकायमा पनि प्रवेश परीक्षाका लागि आवश्यक विद्यार्थी संख्याको आधामात्र आवेदन परेको छ ।

विगतका वर्षमा विद्यार्थीको भीड थेग्नै गाह्रो थियो । ४८ जनाको कोटामा पाँच सयभन्दा बढीले प्रवेश परीक्षा दिन्थे । प्राचार्य प्रदीप अधिकारीले भने यसपालि आवश्यक कोटाजति पनि आवेदन परेको छैन । उनका अनुसार संस्था स्थापना भएको डेढ दशक इतिहासमा विद्यार्थीको संकट भोगेको यो पहिलो पटक हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले अध्ययन नै नगरी पाइलैपिच्छे सम्बन्धन बाँड्दै हिँडनु, आवश्यक जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम निर्माण नहुनु, पहुँचका आधारमा शिक्षालय सञ्चालन गरिनुले प्राविधिक शिक्षामा कुनै पनि शैक्षिक संस्थाले कोटाअनुसारका विद्यार्थी पाउन मुस्किल भएको अधिकारीको बुझाइ छ ।

पहिला सीमित प्राविधिक शिक्षालय हुँदा प्रशस्त र अब्बल विद्यार्थी उपलब्ध हुन्थे । अहिले पाइलैपिच्छे प्राविधिक शिक्षा पढाइ हुने शैक्षिक संस्था र विद्यालय तहबाटै कक्षा ९ देखि १२ सम्म प्राविधिक विषय पढाइ हुँदा डिप्लोमा तहलाई विद्यार्थीको संकट पर्न थालेको अधिकारीको भनाइ छ । उनका अनुसार अध्ययनबिनै सीटीईभीटीले जथाभावी सम्बन्धन बाँडेर पूर्वाधारबिनाका संस्थालाई इजाजत दिँदा विकृति बढेसँगै पूर्वाधार र स्रोत साधन सम्पन्न शिक्षण संस्था मारमा परेका हुन् ।

Copied: Kantipur Post

 

प्रतिक्रिया दिनुहोस्

Array