विगत लामो समयदेखि नेपाली विद्यार्थीहरू उच्च शिक्षा प्राप्तिका लागि विकसित देशहरूमा जाने गरेका छन्। यसरी बिदेसिने विद्यार्थीहरूको सङ्ख्या ह्वात्तै बढेको छ।
उच्च शिक्षा अध्ययनका लागि बिदेसिने विद्यार्थीहरूको बढ्दो सङ्ख्या राज्यको टाउको दुखाई भएको छ। तर उनीहरूलाई स्वदेशमै पढ्ने वातावरण सिर्जना गर्ने सवालमा सरोकारवाला निकाय चुकिरहेका छन्।
विशेषगरी प्लस-टु सकेका विद्यार्थी विदेश जाने योजना बनाउन सुरु गर्छन्। यतिबेला विदेशी शिक्षा र विदेशी डिग्रीप्रति नेपाली युवाहरूको जबर्जस्त आकर्षण देखिन्छ। शैक्षिक योग्यता र गच्छेले भ्याएसम्म प्लस-टु सकेपछि विदेशतिर जाने युवाहरूको सङ्ख्या ठुलो छ। पछिल्लो समय अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीहरूको सङ्ख्या झन् बढिरहेको छ। त्यसो त अमेरिका, बेलायत, युरोपेली मुलुकहरू उनीहरूको अध्ययन गन्तव्य बनिरहेको छ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि नभई नहुने एउटा दस्ताबेज छ, जसलाई नो अब्जेक्सन लेटर (एनओसी) भनिन्छ। विदेश अध्ययनका लागि यो अनिवार्य दस्ताबेज हो। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विद्यार्थीले ‘एनओसी लेटर’ लिनुपर्छ।
बेलायत, अमेरिका, जापान, जर्मनी, नेदरल्यान्डलगायत देशका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्न ‘अफर लेटर’ (स्वीकृति पत्र) प्राप्त गरेका विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘एनओसी लेटर’ लिनुपर्ने व्यवस्था छ।
एकातिर ‘एनओसी लेटर’ समयमै नपाउँदा विद्यार्थीहरूले विभिन्न समस्या झेलिरहेका छन् भने अर्कातिर यो दस्ताबेज अनिवार्य मानिएको छ।
नेपाली नागरिकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पूर्व स्वीकृति (नो अब्जेक्सन लेटर) नलिई विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानुहुँदैन।
छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (ख) छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० को दफा २७ (क) तथा वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ को दफा ३ मा यो व्यवस्था छ।
यदि कुनै विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘एनओसी लेटर’ नलिईकन विदेश जान लागेमा अध्यागमन विभागले विमानस्थलबाट नै फर्काइदिन्छ।
एनओसी लेटरको प्रमुख उद्देश्य भनेको विदेशी मुद्रा सटही सुविधा लिनु हो। जसमार्फत विद्यार्थीले आफूले पढ्न चाहेको अन्तर्राष्ट्रिय विश्वविद्यालयमा सजिलै शुल्क तिर्न सक्छन्। तर, अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढ्नका लागि पूर्ण रूपमा छात्रवृत्ति पाएका विद्यार्थीलाई भने अध्यागमन विभागले रोक्ने गरेको छैन। यो सुविधा लिनका लागि विद्यार्थीले अध्यागमन विभागलाई पूर्ण रूपमा छात्रवृत्ति पाएको हो भन्ने विभागलाई चित्तबुझ्दो प्रमाण पेस गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस्