कृषि तथा वन विश्वविद्यालयको जग्गा अतिक्रमण तीव्र

शिक्षापाटी
शिक्षापाटी १८ मंसिर २०८०, सोमबार
3 Min Read
Aa

कृषि तथा वन विश्वविद्यालयमा मुख्य दलको भागबन्डामा नियुक्ति पाएका पदाधिकारीहरूले विश्वविद्यालयको जग्गा आआफ्नो दलका सहयोगी संघसंस्थालाई बाँड्न थालेपछि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको जग्गा दलगका लागि विभिन्न संघसंस्थालाई दिने निर्णयप्रति आपत्ति जनाउँदै विश्वविद्यालय बचाउ अभियान नै थालनी गरी सम्पूर्ण शिक्षककर्मचारी धर्नामा बसेका छन्।

विश्वविद्यालयको ३ सय ३४ बिघा जग्गामध्ये दलको निजी स्वार्थ पूर्ति गर्न विभिन्न समयमा २ सय ६४ बिघा जग्गा मनोमानी ढंगले बाडेको रहस्य खुलेपछि प्राध्यापक तथा कर्मचारीहरू विश्वविद्यालयको बचाउ गर्न आन्दोलनमा उत्रनुपरेको सहप्राध्यापक हिमाल लुइँटेलले जनाए।

उनका अनुसार पूर्व उपकुलपति ईश्वरीप्रसाद ढकालले आफ्नो ३७ बर्से कार्यावधिभित्र ४ सय ८ कट्ठा जग्गा माओवादी निकट संघसंस्थालाई दिए। ‘हामी प्राध्यापकहरूलाई कुनै जानकारी नै नदिई विभिन्न समयमा दलबाट नियुक्ति पाउने पदाधिकारीहरूले आफ्नो पालामा विश्वविद्यालयको जग्गा दललाई चढाएर पदमा टिकिरहे तर विश्वविद्यालय भने रित्तिँदै गयो,’ सहप्राध्यापक लुइँटेलले भने, ‘अब विश्वविद्यालयको सबै जग्गा रित्तिएर ७० बिघा मात्र बाकी छ। यो पनि हड्प्ने खेल हुँदै छ।’

उनले थपे, ‘त्यही भएर हामी विश्वविद्यालय बचाउ गर्न आन्दोलनमा छौं। उपकुलपति कार्यालयभित्र ७ वटा कक्षा सञ्चालन गरिरहेका छौं। पठनपाठन सञ्चालन पनि गर्दै छौं र आन्दोलन पनि जारी छ।’ मंसिर १४ गतेदेखि विश्वविद्यालयका शिक्षक–कर्मचारीले आन्दोलन गरिरहेका छन्।

नेपाल सरकारले बजेट वक्तव्यमार्फत कृषि र वन विज्ञान विश्वविद्यालय स्थापना गर्दै तत्कालीन अवस्थामा रहेको त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरको नाममा रहेको ३३४ बिघा जग्गा नयाँ बन्ने कृषि र वन विज्ञान विश्वविद्यालयको स्वामित्वमा रहने गरी निर्णय गरेको थियो।

कृषि र वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको जग्गा विवाद मिलाउन विश्वविद्यालय अनुदान आयोगबाट प्राध्यापक गीताभक्त जोशीको संयोजकत्वमा गठित उच्च स्तरीय विवाद समाधान कार्यदलले रामपुरमा त्रिविको आंगिक कलेजका रूपमा चितवन इन्जिनियरिङ कलेज स्थापना गर्दै ४० बिघा जग्गा अधिक्रमण गरेको विश्वविद्यालय बचाउ अभियानका संयोजक तथा विश्वविद्यालयका पाठ्यक्रम विकास निर्देशक सहप्राध्यापक डा. सुवीर सिंहले बताए।

‘हाल पशुविज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको जग्गामा समस्या देखिएको हो। जसअन्तर्गत दुईवटा विशिष्टीकृत विधाहरू-पशु चिकित्सा तथा पशुपालन कार्यक्रम र मत्स्य विज्ञान कार्यक्रमहरूको स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरू सञ्चालनमा रहेका छन्,’ निर्देशक सिंहले भने, ‘लगभग १७० बिघा जग्गामध्ये नेपाल टेलिकम, त्रिविको इन्जिनियरिङ कलेज, स्थानीयले निर्माण गरेको गुम्बा, शिवालय, विश्वविद्यालयको केन्द्रीय कार्यालयहरूले गरी लगभग ७० बिघा ओगटेको छ।

उनले थपे, ‘पशुविज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायअन्तर्गत शैक्षिक भवन, प्रयोगशाला भवन, भेटेरिनरी शिक्षण अस्पाल, पशु विकास फार्म, मत्स्य विकास फाम र पशु चरण क्षेत्र गरी लगभग १०० बिघा जग्गा रहेको छ। यी जग्गा पनि हाल पदाधिकारीहरूले आफ्ना दललाई बाँड्ने चलखेल सुरु गरेका छन्।’

५ वर्षअघि धुर्मुस-सुन्तली फाउन्डेसनले सोही विश्वविद्यालयअन्तर्गत रहेको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायकै पशुचरण क्षेत्र र मत्स्यविकास फार्म तर्फको जग्गा कब्जा गरी क्रिकेट रंगशाला बनाउन सुरु गर्‍यो। सुरुमा २० बिघा जग्गामा क्रिकेट रंगशाला बनाउने भनिए पनि हाल उक्त रंगशालाले लगभग ४० बिघाभन्दा बढी जग्गा अतिक्रमण गरेको देखिएको निर्देशक सिंहले जनाए।

Copied: Nagarik Danik

प्रतिक्रिया दिनुहोस्

Array