त्रिविमा बेथिति: दलगत भागबन्डा मिलाउन निमित्त

शिक्षापाटी
शिक्षापाटी २१ मंसिर २०८०, बिहीबार
5 Min Read
Aa

त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको पद कात्तिक १६ गते रिक्त भयो। सरकारले मुलुककै ठुलो विश्वविद्यालयलाई पूर्णकालीन उपकुलपति दिनु भन्दा पनि बढीमा तीन महिने अवधिको लागि निमित्त उपकुलपति नियुक्ति दियो।

कात्तिक १६ गतेदेखि प्राडा धर्मकान्त बास्कोटाको चार वर्षे कार्यकाल सकिएलगत्तै विश्वविद्यालयले पूर्णकालीन अवधिकोलागि उपकुलपति पाउनुको साटो तीन महिने थमितौले विश्वविद्यालय थप सङ्कटमा पर्ने निश्चित बनेको विश्वविद्यालयका प्राध्यापकहरूको चिन्ता छ।

प्रधानमन्त्री एवं विश्वविद्यालयको कुलपति पुष्पकमल दाहालले कात्तिक १७ गते शिक्षा अध्यक्ष प्राडा शिवलाल भुषाललाई त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ ख बमोजिम रिक्त रहेको उपकुलपतिको पद पुर्ति नभएसम्मको लागि दैनिक कार्य संचलान गर्न बढीमा ३ महिनाको लागि उपकुलपतिको जिम्मेवारी तोकेका छन्।

यसैगरी मंसिर ८ गते त्रिवि सेवा आयोगका सदस्य हेमराज ढकालको चार वर्षे सेवा अवधि सकिएको छ भने पुस ८ गते रजिस्ट्रार प्राडा पेशल दाहाल र चैत ८ गते शिक्षादीक्षा प्राडा शिवलाल भुसालको चार वर्षे सेवा अवधि सकिने क्रममा छ। तर सरकारको यी पदहरूमा नियुक्तिको तयारी भने छैन।

कात्तिक १६ गते उपकुलपति प्राडा बासकोटाको पदावधि सकिएपछि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा तीन सदस्य उपकुलपति छनौट समिति कात्तिक २० गते गठन गरिएको भए पनि हालसम्म कुनै पनि काम नभएकोले नियुक्ति प्रकृयानै अघि नबढेको त्रिवि प्राध्यापक संघका सभापति वसन्त ढकालले जनाए।

उनले सकेसम्म विश्वविद्यालयमा समयमै नेतृत्व दिएर सरकारले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयनको कार्यमा सहजीकरण गर्नु पर्ने जोड दिए। ‘उपकुलपति छनौटका लागि समिति गठन गरियो तर काम भएन। विश्वविद्यालयलाई भागबन्डाको बन्धक बनाउने काम दलहरूले बन्द गर्नु पर्‍यो ,’सभापति ढकालले नागरिकसँग भने ‘दलहरूले भाग बन्डा मिलाउने निहुँमा विश्वविद्यालयलाई लामो समयसम्म नेतृत्वविहीन बनाउँदा विश्वविद्यालय नै ध्वस्त हुन्छ।’

उनले थपे ‘यति मात्र होइन हाल त्रिवि शिक्षक कर्मचारीले डेढ वर्षदेखि बढ तलब पाएका छैनन्। यसले वहाँहरूको मनोबल गिरेको छ। यस्तो अवस्थामा विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्नयनको काम गर्न बाधा पुग्छ।’

त्रिवि उपकुलपति छनौट समितिका सदस्य डा. चन्द्रकला घिमिरेले समिति गठन भए पनि पत्र ढिला पाएकोले काम गर्न समय लागेको बताइन्।

‘उपकुलपति कसरी छनौट गर्नेबारे विधि मापदण्ड बनाएर खुलाबाट गर्ने समितिले छलफल गरेको छ,’ त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागीय प्रमुख समेत रहेकी घिमिरेले भनिन् ‘तीन महिनाको लागि शिक्षाध्यक्षलाई निमित्त उपकुलपति दिएको छ। यही अवधिभित्र समितिले उपकुलपतिको नाम कुलपतिसमक्ष सिफारिस गर्ने लक्ष्य लिएको छ।’

हाल सेवा आयोगको सदस्य नहुँदा उपप्राध्यापक पदको परीक्षा, सह प्राध्यापक र प्राध्यापकहरूको अन्तरवार्ता समेत हुन सकेको छैन। निमित्त दिएर अब विश्वविद्यालयमा रिक्त हुने र रिक्त भएका पदहरूमा दलगत भागबन्डा मिलाउनकै लागि दलहरूले खेल खेल्न समय पाएको त्रिवि कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्कीले बताए।

त्रिवि कर्मचारी संघ विश्वविद्यालयका नेतृत्वहरू समयमै नियुक्ति हुन् पर्ने लगायतका ४५ बुँदे माग राख्दै विरोधमा समेत उत्रेको उनले जनाए।

उनका अनुसार विश्वविद्यालयको मुख्य पद भनेकै उपकुलपति, सेवा आयोगको अध्यक्ष, शिक्षादीक्षा, रजिस्ट्रार र सेवा आयोगको सदस्य गरी पाँच मुख्य पद हुन्। ‘तर यी नै पदमा वर्षौँ दिनसम्म पद रिक्त र नेतृत्व विहीन हुँदा विश्वविद्यालयले गति लिनै सक्दैन,’ अध्यक्ष कार्कीले नागरिकसँग भने ‘विश्वविद्यालय नेतृत्वविहीन छ। सरकारमा भएका दलका शीर्ष नेताहरू विश्वविद्यालय बाडिचुडि खान तल्लीन छन्। भागबन्डा नमिलेकै कारण त हो निमित्त पदाधिकारी नियुक्ति गरिएको।’

उनले थपे ‘सेवा आयोगको सदस्य खालि छ। अब चैत भित्र शिक्षादीक्षा र रजिस्ट्रार पद खालि हुँदै छ। दलको भाग बन्डा नै मिलाउने हो भने पनि समय अगावै मिलाएर दक्ष, योग्य र विश्वविद्यालय हाँक्ने सक्षम व्यक्तिले नेतृत्व पाउनु पर्ने हाम्रो माग हो।’

उनले हाल विश्वविद्यालयका पदाधिकारीले कर्मचारी सङ्घको १० वटा माग पूर्ण रूपमा सम्बोधन गरे पनि अरू माग बारे ध्यान नदिएको कारण पनि आफूहरू आन्दोलनमा उत्रनु परेको जनाए। उनले माग पुरा नभए त्रिवि ठप्प पारी आन्दोलन गर्ने चेतावनी समेत दिए।

त्रिविका भाषा साहित्य विषयका प्राडा जगदिशचन्द्र भण्डारीको भनाइमा देशकै ठुलो विश्वविद्यालय त्रिविको तीन महिने थमौती उपकुलपति नियुक्ति गरेर प्रधानमन्त्री एवं कुलपति दहालले आफ्नो असक्षमताका उदाहरण दिएका हुन्। साढे पाँच लाख विद्यार्थी अध्ययन गरिरहेको र १६ हजार शिक्षक कर्मचारी कार्यरत रहेको विशालकाय संरचना रहेको त्रिविमा तीन महिने निमित्तका उपकुलपतिले विश्वविद्यालयका आर्थिक र शैक्षिक कार्यक्रम सबै सङ्कटमा पर्ने उनको ठहर छ।

‘तीन महिने थमौती पाएका उपकुलपतिले विश्वविद्यालय भित्रका नीतिगत निर्णय जस्तै शिक्षक , कर्मचारी नियुक्ति, सरुवा, बढुवालगायतका काम गर्ने अधिकार हुँदैन। हात बाँधिएका मानिस जस्तै हो ,’ प्राडा भण्डारीले विश्वविद्यालय भित्रको समस्या सुनाए ‘विश्वविद्यालयमा उपकुलपति पद भनेको गाडीको चलाक जस्तै महत्त्वपूर्ण हुन्छ। चालक नराम्रो परे ठुलो दुर्घटना हुन्छ। तीन महिने निमित्तका उपकुलपतिले विश्वविद्यालय चल्दैन।’

उनले थपे ‘प्रधानमन्त्री एवं कुलपति दाहालले दलगत स्वार्थ भन्दा पनि विश्वविद्यालयको उच्च शिक्षाको हित सोचेर भए तत्काल पूर्णकालीन उपकुलपति नियुक्ति गर्नु पर्छ।’

प्रतिक्रिया दिनुहोस्

Array