विश्वविद्यालयमा इन्जिनियरिङ पढ्ने विद्यार्थी किन घटे ?

शिक्षापाटी
शिक्षापाटी २९ मंसिर २०८०, शुक्रबार
3 Min Read
Aa
काठमाडौं । देशमा प्राविधिक जनशक्तिको अभाव भइरहेको बेला विश्वविद्यालयका क्याम्पसहरूले इन्जिनियरिङ विषय पढ्ने विद्यार्थी नै पाउन छाडेका छन् । विश्वविद्यालयले समयमै परीक्षा नलिनु, लिएका परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ, कक्षा १२ पास गरे लगत्तै विदेशतिर लाग्ने प्रवृत्ति बढ्नुलगायत कारणले स्वदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या घटेको हो । इन्जिनियरिङ प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीसमेत भर्ना हुन नआएपछि विश्वविद्यालयहरूले पुनः प्रवेश परीक्षा लिने तयारी गरिरहेका छन् ।पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायअन्तगर्तका आङ्गिक र सम्बन्धन प्राप्त गरी १७ वटा इन्जिनियरिङ कलेज सञ्चालनमा छन् । ती कलेजहरूमा स्नातक तहका सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेकट्रिकल, बायोमेडिकल लगायतका विषय गरी २ हजार ३ सय सिट क्षमता रहे पनि अहिलेसम्म त्यसको करिब ४० प्रतिशत  विद्यार्थी पनि भर्ना भएका छैनन् । प्रवेश परीक्षामा पास भएका विद्यार्थीसमेत कलेजमा विद्यार्थी भर्ना हुन नआएपछि  विश्वविद्यालयले पुन प्रवेश परीक्षाका लागि विद्यार्थीलाई फारम भर्न आह्वान गरेको छ ।पूर्वाञ्चल विश्वविद्यालय मात्र होइन त्रिभुवन, पोखरा, काठमाडौं, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल लगायतका विश्वविद्यालयहरूमा पनि इन्जिनियरिङ विषय अध्ययनका लागि विद्यार्थीहरू उपलब्ध सिट संख्याभन्दा निकै कम मात्रामा भर्ना भएका छन् ।

 

विद्यार्थीको सबैभन्दा बढी चाप हुने त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा समेत २५ प्रतिशत सिट अझै रिक्त छन् भने १० वटा निजी कलेजहरूमा त करिब ७५ प्रतिशत सिट रिक्त रहेका छन् ।देशभरका विभिन्न विश्वविद्यालयका ५७ वटा इन्जिनियरिङ कलेजको स्नातक तहमा करिब ७ हजार विद्यार्थीको भर्ना क्षमता रहे पनि अहिलेसम्म ५० प्रतिशतको हाराहारीमा मात्र भर्ना भएका छन् । इन्जिनियरिङका २० वटा विषयमध्ये सिभिल, आर्किटेक्चर र कम्प्युटर बाहेक अन्यमा पढ्ने विद्यार्थी नै पाउन छाडेपछि कलेज सञ्चालकहरू चिन्तित बनेका छन् ।इन्जिनियरिङ शिक्षा अध्ययन पूरा गरेपछि पनि रोजगारीका अवसर नहुनु र विदेशमा शिक्षाका सँगसँगै आयआर्जनको अवसर पनि हुनुले ठुलो सङ्ख्यामा विद्यार्थीहरू वैदेशिक अध्ययन तर्फ लाग्ने गरेका छन् । कक्षा १२ उत्तीर्ण गरेपछि उच्चशिक्षा अध्ययनका लागि यो वर्ष मात्रै १ लाख १३ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन् । विश्वविद्यालयहरूमा बढ्दो राजनीतिक हस्तक्षेपका साथै समयमै भर्ना परीक्षा र नतिजा प्रकाशित नहुनु मात्र होइन मुलुकको आर्थिक संकटले पनि इन्जिनियरिङ विषय अध्ययनका लागि विद्यार्थीको भर्ना कम भएको हुनसक्ने विज्ञको विश्लेषण छ ।

नेपाल इन्जिनियरिङ परिषद्का अनुसार देशमा अहिलेसम्म ७७ हजारले इञ्जिनियरिङको लाइसेन्स प्राप्ति गरिसकेको छ । स्वदेशमा मात्र नभई विदेशमा समेत दक्ष र क्षमतावान् प्राविधिक जनशक्तिको माग भइरहेको अवस्थामा इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण कम हुनु गम्भीर चिन्ताको विषय बनेको छ ।

 

Copied: Kantipur 

प्रतिक्रिया दिनुहोस्

Array