नेपाललाई शिक्षाको केन्द्र बनाऔं

शिक्षापाटी
शिक्षापाटी १ पुष २०८०, आईतवार
3 Min Read
Aa

डा. गोविन्दशरण उपाध्याय ।
नेपाललाई विश्वस्तरीय शिक्षाकेन्द्र बनाउनेतिर लाग्नु पर्छ । अमेरिका, अस्ट्रेलिया र क्यानाडाको ३६% राजश्व विदेशबाट पढ्न आउने विद्यार्थीले दिन्छन् । नेपालका हिमाल, नदीपहाड, हिमाल सबैतिर ठूला विश्वविद्यालयहरू निर्माण गरेर विश्वभरीबाट विज्ञहरू बोलाएर, तिनलाई उचित पारिश्रमिक दिएर नेपाललाई शिक्षाका माध्यमबाट पर्यटकीयस्थल बनाउन सकिन्छ । शिक्षाक्षेत्र मासेर नेपालको विकास हुँदैन, नेपालको गौरब बढ्दैन । साथै, आफ्ना झोलेहरूलाई पोस्न मात्र नयाँ विश्वविद्यालयहरू खोलेर पनि नेपाल र नेपालीको कुनै सम्मान हुँदैन ।

नेपालले प्राकृतिक रूपमा प्राप्त गरेको बातावरणले अफ्रिकी मुलुकहरूका विद्यार्थीहरूलाई तराई–मधेशमा, युरोपेली र पहाडी देशका विद्यार्थीहरूलाई पहाड़मा र निकै चीसो देशका विद्यार्थीहरूलाई हिमाली क्षेत्रमा अध्ययन/अध्यापनको व्यबस्था गर्न सकिन्छ । मेडिकलमात्र होइन मुस्ताङ, खप्तड, सगरमाथातिर अन्तरीक्ष विज्ञानका विविहरू संचालन गर्न सकिन्छ । यहाँबाट अन्तरीक्ष अन्य ठाउँका तुलनामा धेरै स्वच्छ देखिन्छन् ।

साथैं हिन्दू, बौद्ध तथा जैन संस्कृति र धर्मको थलो नेपाल भएको हुँदा यी धर्मका धार्मिक शिक्षाहरूका लागि विश्वस्तरीय विविहरू खोलेर विश्वभरीबाट धार्मिक, सामाजिक, सांस्कृतिक शिक्षाका लागि विद्यार्थी तान्न सकिन्छ । यी सबै काम गर्नुको सट्टा केवल राजनीतिका लागि आश्वासन बाट्ने र भएको शिक्षा, स्वास्थ्य तथा उद्योगका सम्भावनाहरूलाई ‘झोले’ परिचालित गरेर निमिट्यान्न पार्नेहरू यो देशका सबैभन्दा बढी अबान्छ्नीय तत्व हुन् ।

राजनीतिका पण्डित र सारथी दूवैले उपर्युक्त सम्भावनाको सम्मान गर्ने वातावरण मात्र बनाउने हो भने लगानी गर्नेहरूको विश्वमा कुनै कमी छैन । स्वच्छ र प्राकृतिक पानी पिउन र स्वच्छ पर्यावरणमा बाँच्न पनि विश्वका धेरै लगानीकर्ताहरूले नेपालमा लगानी गर्ने छन् । विश्वभरीका रिटायर प्रोफेसरहरू जीवनभरी कमाएको धन र सीप लिएर नेपाल आउने छन् र स्वयं सेवक बनेर यी विश्वविद्यालयहरूमा सेवा दिने छन् ।

कुनै पनि मुलुकको निर्माण र विनाश राजनीतिले गर्छ । राजनीति चाहिन्छ तर नेपालको जस्तो राजनीति विश्वको कुनै मुलुक र नागरिकले भोग्न नपरोस् । राजनैतिक दलहरू साम्यवाद, समाजवाद, गणतन्त्र, लोकतन्त्रजस्ता वैश्विक राजनीतिका भूमरीबाट निस्केर नेपाल र नेपालीलाई माया गरिदिए पुग्छ । जुनसुकै सिद्धान्तको राजनीति गरे पनि “नेपाललाई शिक्षाको केन्द्र बनाउने प्रयोजनका बाटोमा कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेप हुने छैन, राजनैतिक उदेश्य पूर्तिका लागि झोलेहरू शिक्षाक्षेत्रमा परिचालित गरिने छैन“ भन्ने न्यूनतम समझदारी र त्यसको पालन गरे, नेपालको काया पलट हुन्छ ।

विद्यायाऽमृतमस्नुते, सा विद्या या विमुक्तये, विद्या धनंं सर्व धनंं प्रधानम् अर्थात् शिक्षाले अमृतत्व प्राप्ति हुन्छ, विद्या नै स्वतन्त्रता हो, विद्या भन्दा ठूलो सम्पति अर्को केही हुनै सक्दैनजस्ता कालजयी नाराहरू निर्माण गरेर विश्वले अक्षर पनि नचिनेको बखतमा शिक्षाको महत्वलाई उजागर गर्ने ऋषि परम्पराको सम्मान गर्दै नेपाललाई शिक्षाको केन्द्र बनाउनतिर उन्मुख हुनु इतिहास, धर्म, संस्कृति, परम्पराप्रतिको उत्तरदायित्व पनि हो ।

राजनीति गरौँ तर देश विगार्न होइन, सपार्न गरौँ । नयाँ विश्वविद्यालय खोलौं तर झोले पाल्न होइन नेपाललाई शिक्षाको केन्द्र बनाउने उद्देश्यसँग खोलौं । नयाँ विश्वविद्यालय खोल्दै गर्दा विश्वभरीका रिटायर प्रोफेसरहरूलाई नागरिकता नेपालको मानद प्रदान गरेर विश्वविद्यालयहरूमा सेवा दिन आग्रह गरौँ । डलर पनि आउँछ, विज्ञ जनशक्ति पनि प्राप्त हुन्छ, नेपालको शैक्षिक क्षेत्रमा लगानी गर्नेहरू नेपालतिर प्रस्थान गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

Array