गुणस्तरीय शिक्षा हाम्रो दाबीले मात्रै हुँदैन, अन्तर्राष्ट्रिय समाजले पनि भन्नुपर्छ : सहप्राध्यापक पुन

शिक्षापाटी
शिक्षापाटी १७ पुष २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौँ — नेपालमा गुणस्तरीय शिक्षा रहेको दाबी गरेर मात्रै नहुने त्यसका लागि अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्नुपर्ने स्कुल अफ आर्ट्स, काठमाडौं विश्वविद्यालय कि डीन तथा सह–प्राध्यापक एकुमाया पुनले बताएकी छन् । उनले सरकार र विश्वविद्यालयहरूले गुणस्तरीय शिक्षासहित विद्यार्थीलाई उद्यमी बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएकी छन् ।

काठमाडौंमा मंगलबार आयोजित ‘कान्तिपुर एजुकेसन सम्मिट- २०८०’ को दोस्रो सत्र ‘नेपालमा गुणस्तरीय उच्च शिक्षा कसरी ?’ मा बोल्दै पुनले भनिन्, ‘हाम्रो गुणस्तरीय शिक्षालाई हामीले मात्रै दाबी गरेर हुँदैन, अन्तरराष्ट्रिय समाजले पनि भन्नुपर्छ ।’ उनले विशेष गरी सरकार र विश्वविद्यालयले गुणस्तरीय शिक्षासहित विद्यार्थीलाई उद्यमी बनाउने तर्फ ध्यान दिनुपर्ने सुझाइन् ।

मुलुकमै विज्ञान र प्रविधिमा गुणस्तरीय शिक्षा दिलाउने, यसका लागि भौतिक संरचना पहुँचयुक्त, मैत्रीपूर्ण बनाउने र शैक्षिक कार्यक्रमहरू समय तथा देश सुहाउँदो बनाउनुपर्ने पुनको भनाइ थियो । त्यस्तो व्यवस्थापन गर्नका लागि काठमाडौं विश्वविद्यालय भने सजग रहेको बताइन् ।

विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गराउनका लागि गुणस्तरीय शिक्षा बनाउनुपर्ने पुनको भनाइ थियो । ‘हरेक वर्ष हामीले भर्ना संख्या छुट्याउँछौं, त्यसमध्ये १० प्रतिशत जसरी भएपनि विदेशी विद्यार्थीको लागि र अर्को १० प्रतिशत देशभित्रकै सामाजिक समावेशीकरणलाई समेट्नेगरी विद्यार्थी भर्ना गर्छौ,’ काठमाडौं विश्वविद्यालयको व्यवस्थाबारे उनले भनिन् । काठमाडौं विश्वविद्यालयमा चीन, ताईवान लगायत देशका विद्यार्थीहरू पढिरहेको उनको भनाइ थियो ।

नेपाल छोडेका विद्यार्थीलाई फर्काउनका लागि रोजगारीको सुनिश्चितता गर्नुपर्ने पुनको भनाइ थियो । उनले नेपालमा गुणस्तरीय शिक्षा दिएर मात्रै नहुने विद्यार्थीलाई नेपालमै राख्नका लागि रोजगारीको व्यवस्था हुनुपर्ने बताइन् ।

Copied: Kantipur

प्रतिक्रिया दिनुहोस्

Array