शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन : केएमसीका सञ्चालक डा. सुनील शर्मा

शिक्षापाटी
शिक्षापाटी २५ पुष २०८०, बुधबार
3 Min Read
Aa

काठमाडौँ /२५ पुस – काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनील कुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् । आवासीय चिकित्सक डा. विशद दाहाललाई कलेजको नियम विपरीत कार्य गरेकोमा निलम्बन गरेको विषयमा शिक्षामन्त्री राईले निलम्बन फुकुवा गर्न पत्राचार गरेकोमा पदको दुरुपयोग गरेको भन्दै डा।शर्माले कानुनी उपचारमा जाने बताएका हुन् ।

आचरण विपरीत कार्य गरेका एक जना विद्यार्थीलाई एक महिना निलम्बन गरेको विषयमा मन्त्रीजस्तो व्यक्तिले निलम्बन फुकुवा गर्न पत्र काट्नु हास्यास्पद र लज्जास्पद विषय हो । शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन ।’ मन्त्री राईको निर्देशनात्मक पत्र विरुद्ध आफूहरू अदालत जाने भन्दै डा।शर्माले भने, ‘एउटा विद्यार्थीले आचरण विपरीत कार्य गर्दा त्यसलाई बचाउन र संरक्षण गर्न शिक्षामन्त्री आफैँ सक्रिय हुन्छन् भने त्यो भन्दा लज्जास्पद र हास्यास्पद के हुन सक्छ ।’

शिक्षामन्त्री राईले मंगलबार निलम्बित विद्यार्थी डा. दाहालको निलम्बन फुकुवा गर्न भन्दै निर्देशनात्मक पत्र पठाउँदा २ दिनअघि सोमवार शिक्षा मन्त्रालयमै विवाद समाधानका लागि सकारात्मक वार्ता भएको थियो । उक्त वार्तापछि समाधानको वातावरण बनिरहेको अवस्थामा शिक्षामन्त्रीले पत्र काट्दा वातावरण बिग्रिएको डा। शर्माको भनाई छ ।

डा. शर्माले विद्यार्थीलाई सुध्रिनका लागि एक महिना मात्र कारबाही गरिएको भन्दै एक महिना पछि पनि विद्यार्थी नसुध्रिए विश्व विद्यालयलाई विद्यार्थी फिर्ता पठाइने बताए । ‘कुनै विद्यार्थीले गल्ती गर्छ, कलेजको नियम मन्दिन भन्छ भने कारबाही गर्ने अधिकार हुन्छ । विद्यार्थीलाई एक महिनाको लागि मात्र निलम्बन गरिएको हो । एक महिनाभित्र पनि विद्यार्थी नसुध्रिए काठमाडौँ विश्वविद्यालयलाई विद्यार्थी फिर्ता लैजान भन्छौँ ।’ कलेजले विद्यार्थीलाई गल्ती स्वीकारेर सच्चिएर आउन भन्दा उल्टै २२ सय विद्यार्थीको पठनपाठनमा असर गर्ने गरी वातावरण बिथोलिरहेको जिकिर गर्दै डा. शर्माले भने ।

डा. शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दबाबमा शिक्षामन्त्रीले पत्र काटेको जिकिर गर्दै दूर दराजमा रहेकालाई स्वास्थ्य सेवा नदिने रणनीति अनुसार केएमसीलाई बदनाम गर्न खोजिएको जिकिर गरे । ‘यो दूर दराजका गरिब जनतालाई सेवा नगर्नु भनिएको हो । डा.गोविन्द केसीले शिक्षामन्त्रीको राजीनामा माग्लान् भनेर डराएर मन्त्रीज्यूले पत्र काटेको होला । त्यसले हामीलाई केही फरक पर्दैन ।’ रास्वपा सांसद डा.तोसिमा कार्की सहित निलम्बित विद्यार्थी समेत गोविन्द केसीको कार्यकर्ता भएको भन्दै उनले नेपालका मेडिकल कलेज, नर्सिङ कलेजहरू बन्द गराउन उनीहरु सदन र सडकमै सक्रिय रहेको बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत केएमसीले सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरले शहरदेखि दूरदराजका गरिब, विपन्न तथा स्वास्थ्यको पहुँचबाट वञ्चित नागरिक लाभान्वित भइरहेका छन् । डा.दाहालले उक्त शिविरको विरोध गर्दै कलेजभित्रको स्वास्थ्य सेवा र शैक्षिक वातावरण बिथोल्न थालेको भन्दै केएमसीले एक महिना निलम्बनको कारबाही गरेको थियो ।

केएमसीले निलम्बन गरेपछि आवासीय चिकित्सक डा।दाहालले कलेज तथा अस्पतालमा दैनिक रूपमा आन्दोलन गर्दै आइरहेका छन् । सिनामंगल स्थित अस्पताल परिसरमा सेवाग्राही र बिरामीलाई नै डिस्टर्ब हुनेगरि कलेज बाहिरका असान्दर्भिक व्यक्तिहरू समेतलाई सहभागी गराएर दिनहुँ नाराबाजी गर्न थालेपछि उनलाई केएमसीमा प्रवेश गर्न रोकिएको कलेजको भनाई छ ।

Copied: Khabar education

प्रतिक्रिया दिनुहोस्

Array