सानदार सामुदायिक विद्यालय

शिक्षापाटी
शिक्षापाटी १ जेष्ठ २०८१, मंगलवार
12 Min Read
Aa

नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम सकियो, तर विभिन्न स्थानका उत्कृष्ट सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको दबाब अझै सकिएन

सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण कम छ भन्ने आमबुझाइ छ । तर, देशका कतिपय सामुदायिक विद्यालयमा भने भर्ना पाउनै मुस्किल छ । ती विद्यालयमा विद्यार्थी भर्ना गर्न नेता, व्यापारी र चिनजानका व्यक्तिको दबाबसमेत आउने गरेको शिक्षक–शिक्षिकाको भनाइ छ । उनीहरूका अनुसार मुख्यतः कक्षा ३, ५, ८ र ९ मा भर्नाका लागि धेरै नै दबाब आउने गरेको हो ।

०१८ सालमा स्थापना भएको बुटवलको कालिका मानव ज्ञान माविमा यसपटक विद्यार्थी भर्ना गर्न निकै दबाब आयो । विद्यालयले सुरुमा आउने विद्यार्थीलाई प्रवेश परीक्षा लिएर भर्ना गर्‍यो । तर, भर्ना कार्यक्रम सकिएपछि पनि थप विद्यार्थी भर्ना गर्न दबाब आइरहेको छ । सामुदायिक विद्यालयमध्ये देशभरिमै नमुना विद्यालयका रूपमा रहेको यस विद्यालले यो वर्ष आठ हजार ७३ जना विद्यार्थी भर्ना गरिसकेको छ । यद्यपि, गत वर्ष पनि यहाँ सोही अनुपातमा विद्यार्थी थिए । तर, गत वर्षभन्दा यस वर्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र शिक्षकलाई विद्यार्थी भर्नाका लागि थप दबाब आइरहेको विद्यालयले जनाएको छ । ‘हामीले यो वर्षका लागि कोटा पूरा गरिसकेका छौँ, दबाब निकै आउने गरेको छ, तर अब विद्यार्थी भर्ना गर्न सकिने अवस्था छैन,’ प्रधानाध्यापक दिनेश थापाले भने, ‘यदि विद्यार्थी संख्या बढाउने हो भने त भौतिक संरचना र अन्य स्रोत–साधनमा सरकारले ध्यान दिनुपर्थ्यो ।’ उनले सामुदायिक विद्यालयमा सरकारको लगानी कम भएकाले विद्यार्थीको आकर्षण बढे पनि सबैलाई सम्बोधन गर्न नसकिएको बताए । उनका अनुसार गत वर्ष एसइईमा ३.६ भन्दा बढी जिपिए (ए प्लस) ल्याउने विद्यार्थी १३ जना थिए भने २१ जनाभन्दा बढीले जिपिए ३.२ देखि ३.६ (ए) ल्याएका थिए । विद्यार्थी संख्या धेरै भएकाले विद्यालयले यसपटक कक्षा आठमा दुईजना मात्रै बाहिरका विद्यार्थी भर्ना गरेको छ ।

कैलालीको अतरियामा रहेको दुर्गालक्ष्मी नमुना माविमा पनि छोराछोरी भर्ना गर्न अभिभावक लालायित छन् । ०३० सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १२ सम्म तीन हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । यसमध्ये कक्षा १० सम्म एक हजार नौ सय ५० विद्यार्थी भर्ना भइसकेका छन् । विद्यालयको भौतिक संरचनाले थेग्न नसक्ने भएकाले थप विद्यार्थी भर्ना गर्न नसकिने विद्यालयका प्रअ शिवराज जोशीले जानकारी दिए । ‘भर्ना हुन अझै पनि विद्यार्थी आइरहेका छन्, तर फर्काइरहेका छौँ, भर्ना लिएन भनेर झगडा गर्न राजनीतिक दलका नेता र अभिभावक विद्यालयमै आउँछन्,’ उनले भने, ‘फोनमार्फत पनि भर्ना गरिदिनुपर्‍यो भनेर उस्तै दबाब आइरहेको छ ।’ उनका अनुसार हाल कक्षा ६ र ७ मा चार सेक्सन भरिभराउ भएको छ । त्यस्तै, कक्षा ९ र १० मा सात–सातवटा सेक्सन ब्रेक गरिएको छ । यस विद्यालयबाट ०८० मा भएको एसइईमा तीन सय ८० जना सहभागी थिए । ०७९ को एसइई परीक्षामा यस विद्यालयबाट जिपिए ‘ए प्लस’ ल्याउने १४ जना र ‘ए’ ल्याउने विद्यार्थी संख्या १९ जना थिए । सरकारले नमुना विद्यालयका रूपमा राखेको यस विद्यालयले यस वर्ष नयाँ भर्ना हुन आउनेमध्ये चार सयभन्दा बढी विद्यार्थी फर्काएको छ ।

नमुना माविभित्र पर्ने कैलालीकै अर्को विद्यालय हो, टीकापुरस्थित कर्णाली मावि । यस विद्यालयमा दुई हजार दुई सय ६४ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा पनि भर्ना चाप थेग्न हम्मेहम्मे परेको छ । तैपनि, दुई सय हाराहारी विद्यार्थी विद्यालयले भर्ना गर्न नसकिने भन्दै फर्काएको छ । सीमित कक्षाकोठा र भौतिक संरचनाका कारण विद्यालयले गत वर्षकै संख्यामा यस वर्ष पनि विद्यार्थी भर्ना गरेको छ । ०४५ सालमा स्थापना भएको यस विद्यालयमा अझै पनि भर्ना गर्न दबाब आइरहेको प्रअ धर्मराज शर्माले जानकारी दिए । ०८० मा भएको एसइई परीक्षामा यस विद्यालयबाट तीन सय ५१ जना विद्यार्थी सहभागी थिए भने ०७९ मा भएको एसइई परीक्षामा तीन सय १० जना सहभागीमध्ये दुई जनाले जिपिए ए प्लस र ८ जनाले जिपिए ए ल्याएका थिए ।

धरानमा रहेको पब्लिक हाइस्कुलमा पनि भर्ना गर्न भनसुन गर्नेको संख्या धेरै छ । तर, विद्यालयले तीन हजार चार सय ४९ भन्दा बढी विद्यार्थी भर्ना गर्न नसकिने बताउँदै आएको छ । ००३ साउनमा स्थापना भएको यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ भने नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुन्छ । प्रधानाध्यापक डा. इन्द्रमोहन झाले गत वर्षभन्दा यस वर्ष भर्नाका लागि निकै दबाब आएको बताए । ‘भर्नाका लागि अझै दबाब आइरहेको छ, तर बेवास्ता गर्ने गरेका छौँ । थप विद्यार्थी पढाउने ठाउ नै छैन, कोठा बढेको छैन,’ उनले भने, ‘जति विद्यार्थी भर्ना भएका छन्, अब उनीहरूको गुणस्तरमै ध्यान दिन्छौँ, संख्या देखाउन मात्रै भर्ना गर्दैनौँ ।’ गत वर्षको एसइईमा यस विद्यालयबाट जिपिए ए प्लस अर्थात् जिपिए ३.६ भन्दा बढी ल्याउने विद्यार्थी संख्या ६ थियो भने सबैभन्दा कम जिपिए ल्याउने विद्यार्थी संख्या दुई थियो । यस वर्ष कक्षा आठमा अन्य विद्यालयबाट ५४ जना विद्यार्थी आएका छन् ।

काठमाडौंको बाफलमा रहेको ज्ञानोदय माविमा पनि विद्यार्थी भर्नाका लागि खुबै दबाब आइरहेको छ । तर, संरचनाले धान्नेभन्दा बढी विद्यार्थी भर्ना गर्न नसकिने विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइरालाले बताए । उनका अनुसार यसपटक चार हजार पाँच सय विद्यार्थी भइसकेका छन् । भौतिक संरचना साँघुरो भएका कारण अब योभन्दा बढी विद्यार्थी भर्ना गर्न नसकिने उनको भनाइ छ । तर, भर्ना गर्न अझै निरन्तर दबाब आइरहेको छ । ‘विगतका वर्षहरूमा पनि दबाब आउँथ्यो, दबाब आउँदैमा कक्षाकोठा र अन्य संरचना बढ्ने भएन ।’ उनले भने, ‘विद्यालय भवन बनाउन सकेका छैनौँ, साँघुरो स्थान भएकाले सबै विद्यार्थी भर्ना लिन सकेनौँ ।’ उनले राजनीतिक दल तथा वरिपरिका अभिभावकबाट बढी दबाब आउने गरेको बताए । ०२० मा स्थापना भएको यस विद्यालयमा गत वर्षको एसइईमा ३.६ भन्दा बढी जिपिए अर्थात् ए प्लस ल्याउने विद्यार्थी दुईजना थिए । यस वर्ष कक्षा आठमा एक सय २५ जना बाहिरका विद्यार्थी भर्ना भएका छन् ।

मध्यबानेश्वरमा रहेको रत्नराज्य स्कुलका प्रधानाध्यापक रामाशिष यादव भर्ना अभियान सकिँदा पनि भर्नाका लागि दबाब आइरहेको बताउँछन् । यो विद्यालयको क्षमता दुई हजार तीन सय विद्यार्थीको हो । क्षमताअनुसार विद्यार्थी भर्ना भइसकेका छन् । ‘भौतिक संरचना सीमित छ, जति संरचनाले थेग्छ सोहीअनुसार भर्ना गर्ने हो । दबाब आयो भनेर विद्यार्थी बढाउन सकिँदैन,’ उनले भने । गत वर्ष यस विद्यालयबाट तीन सय ६ जनाले एसइई दिएकोमा २१ जनाले ३.६ जिजिए (ए प्लस) ल्याएका थिए भने ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी ६२ जना थिए ।

१९१० मा स्थापना भएको दरबार हाइस्कुल (भानु मावि)मा पनि विद्यार्थी भर्नाको दबाब थेगिनसक्नु छ । भर्ना कार्यक्रम सकिएको भन्दै दबाब अस्वीकार गर्ने गरेको विद्यालयकी प्रधानाध्यापक शारदा पौडेल बताउँछिन् । कक्षा कोठालगायत भौतिक संरचना अभाव रहेकाले थप विद्यार्थी भर्ना गर्न नसकिने उनको भनाइ छ । यस वर्ष विद्यालयमा आठ सय विद्यार्थी भर्ना भएका छन् । योभन्दा बढी विद्यार्थी थप्न नसकिने अवस्था छ । विद्यालयमा १४ वटा मात्रै कक्षाकोठा छन् । सो आधारमा तीन सय ६० जना विद्यार्थी पढाउनुपर्ने हो, तर दोब्बर विद्यार्थी भर्ना भइसकेका छन् । गत वर्ष यस विद्यालयबाट ३६ जनाले एसइई दिएकोमा ३.६ देखि माथिल्लो जिपिए ल्याउने विद्यार्थी चारजना थिए भने ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी सात जना थिए ।

भक्तपुरको च्यामासिंहस्थित बागीश्वरी मावि ।

भक्तपुर च्यामासिंहमा रहेको बागिश्वरी माविमा पनि भर्ना हुन आउने विद्यार्थीको चाप थेगिनसक्नु छ । यो वर्ष अन्य विद्यालयबाट भर्ना हुन सात सय विद्यार्थी आएका थिए । यहाँ चार हजार तीन सय विद्यार्थी भर्ना भइसकेको विद्यालयका संयोजक ज्ञानसागर प्रजापतिले जानकारी दिए । ‘छोराछोरी भर्ना गरिदिनुपर्‍यो भनेर अभिभावक कराउनुहुन्छ, तर ठाउँ छैन, ठाउँ भए त अझै विद्यार्थी भर्ना गर्न सकिन्थ्यो,’ उनले भने । उनका अनुसार विद्यार्थी बढेसँगै अधिकांश कक्षाका सेक्सन भरिभराउ भएका छन् । कक्षा १० मा त सेक्सन ‘ई’सम्म पुगेको छ । गत वर्ष दुई सय ७५ जनाले एसइई दिएकोमा ४४ जनाले जिपिए ३.६ भन्दा माथि नतिजा ल्याएका थिए । यस्तै, ३.२ देखि ३.६ ल्याउने विद्यार्थी ७० जना थिए । ०१५ मा स्थापना भएका यो विद्यालयले स्कुल भवनमा विद्यार्थी नअटेर कलेजको भवनमा समेत तल्ला कक्षा सञ्चालन गरेको छ । शैक्षिक गुणस्तरमा अब्बल ठानिएका उपत्यकासहित देशभरका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । विद्यार्थीको चाप थेग्न नसकेर कतिपय विद्यालयले प्रवेश परीक्षासमेत लिने गरेका छन् । विशेष गरी अंग्रेजी माध्यम र प्राविधिक शिक्षा समावेश गरेका विद्यालयमा विद्यार्थी बढेका छन् ।

शिक्षाविद् विद्यानाथ कोइरालाले गुणस्तरीय शिक्षा र शुल्क नलाग्ने भएकाले अभिभावकको आकर्षण सामुदायिकतिर बढेको बताए । ‘धेरै सामुदायिक विद्यालयका प्रअहरूले भर्नाका लागि दबाब आयो भन्ने गर्नुहुन्छ, यो स्वाभाविकै हो, हाम्रा सामुदायिक विद्यालयको संरचना सीमित छन्,’ उनले भने, ‘रूपान्तरण भएका र अभिभावकको मन जित्न खोजेका विद्यालयमा स्वाभाविकै आकर्षण बढ्छ, अब राज्यले सामुदायिक विद्यालयको अवस्था हेरेर संरचना बढाउनतर्फ लाग्नुपर्छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले पनि पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयमा आकर्षण बढेको बताए । उनले निजी विद्यालयमा पढाइरहेका अभिभावकले विद्यार्थीलाई सामुदायिकमा भर्ना गर्ने अवस्था बढेको जानकारी दिए । केन्द्रको सर्वेक्षणअनुसार काठमाडौं उपत्यका, रुपन्देही, मोरङ, कास्की, गोर्खा, तनहुँ, कैलाली, कपिलवस्तु, म्याग्दीलगायत जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढी छ ।

यी हुन् विद्यार्थी चाप धेरै हुने सामुदायिक विद्यालय 
चितवन नारायणगढमा रहेको नारायणी नमुना मावि, कान्ति मावि बुटवल, विश्व निकेतन मावि त्रिपुरेश्वर, बागिश्वरी मावि भक्तपुर, पब्लिक हाइस्कुल धरान, कालिका मानव ज्ञान मावि बुटवल, दरबार हाइस्कुल (भानु मावि) काठमाडौं, रत्नराज्य स्कुल बानेश्वर, कर्णाली मावि टीकापुर, दुर्गालक्ष्मी नमुना मावि अतरिया कैलाली, नेपाल आदर्श मावि कपिलवस्तु, धनगढी मावि कैलाली, राष्ट्रिय मावि लम्की चुहा कैलाली, ज्ञानोदय मावि बाफल, रझेना उमावि, दाङ, सत्यवती माध्यमिक विद्यालय तनहुँ, पद्मोदय नमुना माध्यमिक विद्यालय दाङ, शान्ति नमुना मावि रुपन्देही, जनकल्याण मावि महांकाल, पद्मोदय मावि भक्तपुरलगायत छन् ।

दुई हजारभन्दा बढी विद्यार्थी भएका स्कुलको भौतिक संरचना थपिँदै 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयको भौतिक संरचना विस्तार गर्ने योजना अघि सारेको छ । मन्त्रालयले ०८० मा कार्यविधि तय गरेर योजना अघि बढाएको हो । आर्थिक वर्ष ०८०/८१ मा दुई हजारभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालय छनोट गरी केहीमा भौतिक संरचना विस्तार थालिएको छ । शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वय इकाइका प्रमुख अर्णप्रसाद न्यौपानेका अनुसार दुई हजारभन्दा बढी विद्यार्थी संख्या भएका र भौतिक संरचना थप्नुपर्ने एक सय ४५ वटा विद्यालयको स्थलगत सर्वेक्षण गरिएको छ । यसमध्ये २७ वटा विद्यालयको भौतिक संरचना विस्तारको काम अघि बढेको छ । जसमा कोशी प्रदेशबाट पाँच, मधेश प्रदेशबाट नौ, बागमती प्रदेशबाट तीन, गण्डकी प्रदेशबाट दुई, लुम्बिनी प्रदेशबाट पाँच, कर्णाली प्रदेशबाट एक र सुदूरपश्चिम प्रदेशबाट दुई विद्यालय छनोट भएका छन् । यो वर्ष भौतिक संरचनाका लागि २३ करोड ३८ लाख बजेट वियोजन भएको छ । भौतिक संरचना कमजोर, तर विद्यार्थी बढी भएका विद्यालयलाई यो कार्यक्रम प्रभावकारी हुने मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए ।  Copied: naya patrika

प्रतिक्रिया दिनुहोस्

Array