शिक्षामन्त्रीको निजी सचिवालयमा सेटै परिवर्तन

शिक्षापाटी
शिक्षापाटी ७ जेष्ठ २०८१, सोमबार
3 Min Read
Aa

काठमाडौँ – शिक्षामन्त्री सुमना श्रेष्ठले निजी सचिवालयमा पुराना कर्मचारी हटाएर नयाँ टिम बनाईरहेकी छन् । त्यस्तै मन्त्रालयको विभिन्न महाशाखामा पनि आफूलाई सहयोग गर्ने सहज कर्मचारी ल्याएकी छन् ।

निजी सचिवालयका उपसचिव विजय सुवेदीले छाडेपछि उनको ठाउँमा प्रशासन सेवाकै दिवाकर भुजेललाई ल्याउने प्रक्रिया अघि बढाएको मन्त्रालय स्रोतले जनाएको छ । उनलाई काभ्रेबाट ल्याउन लागिएको हो । त्यस्तै यस अघि ल्याइएको प्रशासनका दुई जना शाखा अधिकृत पनि फिर्ता गरेर नयाँ ल्याउने प्रक्रिया अघि बढाइएको छ । उनीहरूको ठाउँमा एक जना शिक्षा सेवाका शाखा अधिकृत यदुविक्रम थापालाई सचिवालयमा सरुवाको पत्र दिइसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

सचिवालयमा रहेका प्रशासनका शाखा अधिकृतले शिक्षाका सहसचिवलाई समेत अपमान गर्ने गरेको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको र प्रमुख आयुक्तसँग नियमित कुराकानी हुने गरेको भन्दै शिक्षाका कर्मचारीलाई दबाबमा राख्न खोजेको ती शाखा अधिकृत माथि शिक्षा कर्मचारीले आरोप लगाउने गरेका छन् ।

‘हामीलाई मात्रै होइन शिक्षामन्त्रीलाई नै दबाबमा राख्ने गरेका थिए’ ती कर्मचारी भने ‘निजी सचिवालयमा उपसचिव प्रमुख हुने भए पनि ती दुई शाखा अधिकृतले अटेर गरेर मन्त्रीसँग नजिक हुने र गलत सल्लाह दिने गरेको धेरै विषय छन् ।’

मन्त्रीको निजी सचिवालयमा रहेका शाखा अधिकृतले अख्तियार प्रमुखको नाम लिएर दबाबमा राखेकै कारण शिक्षाका कर्मचारीले मन्त्रीलाई असहयोग गरिरहेको मन्त्री निकटको बुझाई छ ।

शिक्षक सरुवा सम्बन्धी मापदण्डको फाइल अघि बढाउन मन्त्रीले निर्देशन दिँदा पनि कर्मचारीले रोकेको मन्त्री निकट स्रोतले जनाएको छ ।

शिक्षाका कर्मचारीले मन्त्रीलाई असहयोग गर्नुमा निजी सचिवालयमा रहेका सदस्य पनि हुन सक्ने अनुमान गरेर नयाँ टिम बनाउन थालेको स्रोतले जनाएको छ । मन्त्रीको निजी सचिवालयका तीन जना कर्मचारी (एक उपसचिव, दुई शाखा अधिकृत) बिच नै मनमुटाब भएपछि उनीहरूलाई हटाएर अर्को कर्मचारी खोजी गरेको हो  । एक साता अघि नै मन्त्रालयमा मन्त्रीको निजी सचिवालयका दुवै शाखा अधिकृतले आफ्नो नामको बोर्ड हटाए पनि उनीहरू नियमित मन्त्रालय भने गइरहेका छन् ।

त्यस्तै योजना महाशाखाका कर्मचारी पनि हेरफेर गरिएको छ । योजना महाशाखा प्रमुख इमनारायण श्रेष्ठलाई सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रमा सरुवा गरेर केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललाई मन्त्रालयको योजना महाशाखामा ल्याईएको छ। योजना महाशाखा उपसचिवमा मन्त्रीले चिकित्सा शिक्षा आयोगका उपसचिव धनबहादुर श्रेष्ठलाई लैजान लागेकी छन् । उनलाई सरुवा गरेको पत्र हुलाक मार्फत आयोगमा पठाइसकेको छ । आयोगले भने सल्लाह बिना उपसचिवको सरुवा गरेको भन्दै असन्तुष्टि जनाएर श्रेष्ठलाई मन्त्रालय पठाएको छैन । शाखा अधिकृतमा  गोपाल नारायण श्रेष्ठलाई लैजान लागेकी छन् ।

यो पनि पढ्नुहोस् : शिक्षामन्त्रीका निजी सचिव किन टिकेनन् दुई महिना पनि ?

Copied: Edukhabar

प्रतिक्रिया दिनुहोस्

Array