काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कारखानामा काम गरेका दक्ष कामदारलाई प्रशिक्षकको समकक्षता दिने भएको छ । सीटीईभीटले विभिन्न कलकारखानामा लामो समयदेखि काम गर्दै आएर उक्त काममा दक्ष भएकालाई प्रशिक्षकको समकक्षता दिने भएको हो ।
त्यस्तै परिषदबाट सञ्चालन हुने प्रवेश परीक्षा, परीक्षा सञ्चालन र सम्बन्धन प्रक्रियाको समय तालिका (Academic Calender) राष्ट्रिय चिकित्सा शिक्षा आयोग र अन्य निकायसँग तालमेल हुने गरी निर्माण गरी प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रम सम्बन्धनका विषयमा विनियमावली संशोधन गरेर मात्रै निर्णय गर्ने भएको छ । विनियमावली निर्माणका लागि स्तर निर्धारण महाशाखाका निर्देशकको नेतृत्वमा ‘कार्यक्रम सम्बन्धन विनियमावली निर्माण कार्यदल’ गठन गर्ने निर्णय गरेको छ । उक्त कार्यदललाई एक महिनाको समय दिइएको छ । सम्बन्धनका प्रक्रियामा रहेका सबै निवेदनको अवस्था पारदर्शीताका लागि वेबसाइटमा राख्ने समेत निर्णय गरेको छ ।
हालसम्म सम्बन्धनका विषयमा गरिएका अध्ययन प्रतिवेदन परिषद्का पदाधिकारीलाई उपलब्ध गराउने पनि निर्णय भएको छ । सम्बन्धनका विषयमा प्रक्रियामा रहेका संस्थाको यकिन विवरण र सम्बन्धन प्रक्रियाको ढाँचा (Affiliation Process Flow Chart) समेत वेबसाइटमा राखिने छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय कार्य टोलीको म्याद २०८१ असार मसान्तसम्म थप गर्ने निर्णय समेत गरेको छ ।
परिषद्को दरबन्दी व्यवस्थापन गर्न तथा स्वीकृत दरबन्दीहरूमा समयसापेक्ष र समयानुकूल व्यवस्थापन गर्न एक कार्यदल गठन गरिएको छ । शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा संगठनात्मक तथा व्यवस्थापन सर्भेक्षण कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
Copied: Ratopati
प्रतिक्रिया दिनुहोस्