माध्यमिक तहको खुद भर्नादर वृद्धि

शिक्षापाटी
शिक्षापाटी १४ जेष्ठ २०८१, सोमबार
2 Min Read
Aa

माध्यमिक तह (९–१२) मा खुद भर्नादर बढ्दै गएको छ । शैक्षिक सत्र २०८० मा आधारभूत तहको खुद भर्नादर अघिल्लो वर्षभन्दा एक प्रतिशत विन्दुले कमी आएको छ भने माध्यमिक तहको खुद भर्नादर ०.५ प्रतिशत विन्दुले वृद्धि भएको छ । शैक्षिक सत्र २०८० मा माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्नादर गत वर्षको तुलनामा ०.५ प्रतिशत विन्दुले बढेर ५७.९ प्रतिशत पुगेको छ ।

कक्षा १ मा खुद प्रवेश दर ९५.७ रहेको छ भने आधारभूत तह (कक्षा १–५) को खुद भर्नादर ९५.६ प्रतिशत र आधारभूत तह (कक्षा १–८) को खुद भर्नादर ९५.१ प्रतिशत रहेको  आर्थिक सर्वेक्षण २०८०–८१ मा उल्लेख गरिएको छ।

गत शैक्षिक सत्रमा उक्त भर्नादर क्रमशः ९७.१ प्रतिशत र ९६.१ प्रतिशत रहेको थियो।

प्रारम्भिक बाल विकास कक्षामा १ वर्षभन्दा बढी अवधि रहने प्रवृत्ति बढेको र जनसङ्ख्या वृद्धिदरमा कमी आएकोले कक्षा १ मा खुद प्रवेश दर र आधारभूत तहको खुद भर्नादर घटेको अनुमान  सर्वेक्षणले गरेको छ।

 

विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै

पछिल्ला वर्षमा विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको छ । शैक्षिक सत्र २०८० मा कक्षा ८ सम्मको टिकाउ दर ८६.२ प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६९.९ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३७.२ प्रतिशत पुगेको छ ।

शैक्षिक सत्र २०७९ मा यस्तो टिकाउ दर क्रमशः ८५.७ प्रतिशत, ६७.३ प्रतिशत र ३५.६ प्रतिशत रहेको थियो ।

विद्यार्थी बढी भएका विद्यालय

पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तरमा वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सामुदायिक विद्यालयमध्ये रूपन्देही जिल्लास्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सबैभन्दा बढी ८,०५३ विद्यार्थी अध्ययनरत रहेका छन् ।

 सयभन्दा कम विद्यार्थी भएका विद्यालय ५७ प्रतिशत

कुल सामुदायिक विद्यालयमध्ये एक सयभन्दा कम विद्यार्थी भएका विद्यालय ५७.० प्रतिशत रहेका छन् भने २ हजारभन्दा बढी विद्यार्थी भएका विद्यालय ०.४ प्रतिशत रहेका छन्। सहरी क्षेत्रमा बढ्दै गएको बसाइसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको आर्थिक सर्वेक्षण २०८०–८१ मा उल्लेख छ ।

Copied: Edupatra

प्रतिक्रिया दिनुहोस्

Array